काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
योसँगै संक्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए। शनिबार थपिएका संक्रमितमध्ये काठमाडौंका ३ जना रहेका छन्।
यसैगरी धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेको पनि गौतमले जानकारी दिए।
गौतमका अनुसार बितेको २४ घण्टामा थप ४३१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्। योसँगै कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ८ हजार ४४२ पुगेको हो।
गौतमले कोरोना संक्रमित मध्ये निको हुनेको संख्या ८ हजार ४४२ पुगेको बताए। उनले प्रतिशतका आधारमा संक्रमितमध्ये ५०.५ व्यक्ति निको भएपनि बताए।
थप तीनको मृत्यु
कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जना काठमाडौँ र १ जना सिन्धुपाल्चोकका रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार काठमाडौँ महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
यस्तै काठमाडौँकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । मृगौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
