देशैभर वाढी, पहिरोको बितण्डा : १० जनाको मृत्यु, ४१ वढी वेपत्ता

काठमाडौं । अबिरल बर्षासँगैैं देशका विभिन्न स्थानमा गएको वाढी, पहिरोबाट १० जना भन्दा वढीले ज्यान गुमाएका छन् भने ४१ जनाभन्दा वढी वेपत्ता भएका छन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार रिखका भीमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना पहिरोमा परी बेपत्ता भएका हुन् ।

Advertisement

सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सविन पुन बेपत्ता भएका हुन् । परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

यसैगरी मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले पुरिँदा विष्णु शर्मा र इच्छा शर्मा बेपत्ता भएका छन् । वडाध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा बेपत्ता भएकी छिन् । बिम तल्लो गाउँका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । भारवाङस्थित शिवरात्रि खोलामा रहेको ट्रस पुल बाढीले बगाएको छ । मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढालगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ ।

उता, पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएका छन् । घाइते २२ वर्षीया पिङ्की थापा , १८ वर्षीया आशा थापा र पिङ्कीका छोरी पाँच वर्षीया पिरिसा थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।त्यसैगरी तनहुँ दमौलीका टङ्कबहादुर थापाका साली २८ वर्षीया सरस्वती श्रेष्ठ उहाँका छोरा वर्ष १० का सन्देश श्रेष्ठ तथा छिमेकी पोखरा–१८ बस्ने १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापामगर र १९ वर्षीय रश्मी थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति घरमाथिबाट आएको पहिराले थापाको घर पुरेको थियो ।

यसैगरी, लमजुङ बेँसीशहर नगरपालिका–७ का एक स्थानीयको घरमाथिबाट खसेको पहिरोका कारण तीन जनाको मृत्यु भएको छ । स्थानीय ३३ वर्षीय दीपक तामाङको घरभित्र गए राति पौने १२ बजेतिर अविरल वर्षासँगै पहिरो पस्दा ३३ वर्षीय दीपकसहित नौ वर्षीय छेवाङ तामाङ र २६ वर्षीया विमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता, रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेका छन् । पहिराले घर पुरिँदा आठ वर्षीया छोरी हिरा घाइते भएको र उनको अवस्था मध्यम रहेको छ ।

बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन् ।

त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र छ वर्षीय छोरा सुवास छन् । त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएका छन् ।

More News last news
Loading...