– बिष्णु पौडेल
काठमाडौँ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले आवाह्न गरेको लकडाउन १०० दिन भन्दा बढी लम्बिइसकेको छ । शुरुवातका दिनहरुमा भन्दा संक्रमितहरुको संख्या दिन प्रतिदिन बढदो मात्रामा रहेको छ।
हालसम्म १६ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन । पिसीआर परिक्षणको दायरा समुदायस्तरसम्म पुग्न सकेको छैन । समग्र देश आर्थिक संकटमा फँसिसकेको छ । निजी उद्योगी व्यवसायीहरु चरम आर्थिक संकटमा फसेका छन् । व्यापार व्यवसाय ठप्प हुँदा बैकको किस्ता तिर्नका लागि समेत सर्घषरत छन् ।
गरीब, मजदुर र विपन्न वर्गका मानिसहरु दैनिक जीवनयापनका लागि कठिन संघर्ष गरिरहेका छन् । सरकारले लकडाउनलाई मात्र आधार मानी लामो समयसम्म घरभित्र मात्र सिमित रहँदा आम मानिसहरुमा नैराश्यता बढेको छ । व्यक्तिगत तनाव, आर्थिक संकट, औषधि उपचारको अभाव लगायतका कारणले मानिसहरुमा नैरास्यता बढेको छ। तर पनि, सरकारले नागरिकहरुको अभिभावकीय जिम्मेवारी बहन गर्न सकेको छैन ।
सरकार कसरी जनतालाई राहत दिन सकिन्छ, भन्दा पनि कसरी धेरै कर उठाउन सकिन्छ भन्नेमा छ । सरकार समग्र नागरिकहरुको स्तरमा आशा, विश्वास र भरोसा प्रदान गर्नुको अलावा भष्ट्राचार अनियमितता र पार्टीभित्रको शक्ति संघर्षमा लिप्त छ । दुई तिहाईको जनमत प्राप्त नेकपाले सरकार अस्थिर बनाउन लागि परेको छ।
प्रधानमन्त्रीका पटक–पटकका गैरजिम्मेवार अभिव्यक्ति र जनउत्तरदायी गतिविधिहरु हुन नसक्दा आमसर्वसाधरणमा प्रधानमन्त्री नामक राजनैतिक संस्थाप्रति नै वितृष्णा बढिरहेको छ । नेकपाको आन्तरिक राजनैतिक किचलोमा चासो देखाएकोले सम्माननीय राष्टपति स्वयमको गरिमामा धमिलोपन देखिन थालेको छ ।
महामारीको समयमा यी सम्पुर्ण घटनाक्रमहरुलाई सामान्य तवरबाट मात्र लिन मिल्दैन । प्रधानमन्त्रीका गतिविधिहरु र गैरजिम्मेवार अभिव्यक्तिको दिर्घकालिन प्रभाव नेपाली जनताहरु र समग्र राष्ट्रमा परेका छन् र पर्ने छन् ।
दुई तिहाईको पावरफुल सरकार र प्रधानमन्त्रीलाई आम जनतालाई निरासा पार्ने अधिकार छैन । जनस्तरमा नैराश्यता बढने गतिविधिहरु जोकोहीबाट पनि नेपाली जनतालाई स्वीकार्य छैन। नेकपा नेतृत्वको सरकार सच्चिएर अगाडि बढनु अपरिहार्य छ । अन्यथा यसले वर्तमान राजनैतिक व्यवस्थामा नै कम्पन्न सिर्जना गर्दछ ।
काँग्रेस ५ वर्ष प्रतिपक्षमै
नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राज्य संचालनमा नैतिक धरातल गुमाइसकेको छ । पार्टीभित्र आन्तरिक किचलो बढेर कहिले ओली तर कहिले पुष्पकमल दाहाल खेमाका बैठक बसिरहेका छन् ।
उता पछिल्लो समय सदावहार पार्टी नेतृत्वको सदावहार प्रतिपक्षी बनेका नेता माधव नेपाल टिम पनि आन्तरिक तयारीमा छ । यस्तो समयमा प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसले कहिले नेकपा फुट्ला र सरकारमा जान पाइएला भनेर खुट्टो उचालेर बस्नु किमार्थ हुँदैन । यो ५ वर्ष जनताले काँग्रेसलाई प्रतिपक्षमा र नेकपालाई सत्ता चलाउन पठाएका हुन् ।
बरु काँग्रेस ससद्मा कडा प्रतिपक्षी र समाजमा जनताको प्यारो पार्टी बन्नका लागि देशभर संगठन विस्तारमा लाग्नु पर्दछ । जसको फलस्वरुप आगामी निर्वाचनमा हामीलाई ठुलो सफलता मिल्न सक्छ । हामी अहिले पार्टी निर्माण र जनताका समस्या उठाउन लागौँ हाम्रो भविष्य जनताले तय गर्ने छन् ।
(लेखक पौडेल नेपाली काँग्रेस स्याङ्जाका नेता हुन्।)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
