समाजवादी पार्टीबाट सरिता गिरी निष्कासित, भन्छिन्, ‘अब सर्वोच्च जान्छु’

काठमाडौं । प्रतिपक्षी दल समाजवादी पार्टीले पछिल्लो समय विवादमा तानिएकी नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । संसद्मा बोल्दा पटक पटक विवादमा तानिएकी गिरीलाई समाजवादीले निष्कासन गरेसँगै उनको सांसद् पद समेत गुम्ने छ ।

समाजवादी पार्टीका महासचिव रामसहाय प्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारवाही गर्न सिफारिस गरेअनुसार मंगलबार बसेको पदाधिकारी बैठकले गिरीलाई पार्टीबाट निष्कासन गरेको हो ।

Advertisement

सांसद् गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरको नयाँ राजनीतिक नक्साको विरोध गर्दै आएकी थिइन्। सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध पनि उनले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

नेतृ गिरीलाई पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न आग्रह गरेपनि गिरीले अटेर गरेपछि असार ८ गतेको पदाधिकारी बैठकले सांसद् गिरीलालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

असंवैधानिक निर्णय हो, अब सर्वोच्च अदालत जान्छु’

पार्टीले कारवाही गरेसँगै नेतृ सरिता गिरीले यो अवैधानिक कदम भएको भन्दै आफु सर्वोच्च अदालत जाने बताएकी छन् । गिरीले पार्टीको संसदीय दल र केन्द्रीय समितिले छलफल गरेर गर्नुपर्ने निर्णय पार्टीका केही नेताहरु मात्रै बसेर आफुखूशी गरेको भन्दै आपत्ति जनाइन् ।

हामीसँग कुरा गर्दै गिरीले भनिन्, “समाजवादी पार्टीले दलको विधान विपरित मलाई निष्कासन गर्ने निर्णय गरेको छ । दलमा अल्पमतमा भएका कारण चोरबाटोबाट पार्टी पदाधिकारीका नाममा यो निर्णय गरिएको छ । यो असंवैधानिक छ । केन्द्रीय कमिटीको बैठक त परैको कुरा दलको बैठक पनि बसेको छैन । यो अरु केही नभएर आफ्ना नजिकका व्यक्तिलाई संसद्मा ल्याउने तयारी हो । म अब एक्लै भएपनि सर्बोच्च गएर चुनौती दिन्छु।”

गिरीले आज–भोलि नै हुने पार्टी दर्ता प्रक्रियाको मौका छोपेर आफुँलाई चोर बाटोबाट कारवाही गरी आफ्ना नजिकका मान्छे प्रवेश गराउन खोजिएको पनि बताइन्। विसं २०७२ सालमा नेपालको संविधान जारी भएपछि गिरी तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद् बनेकी थिइन् ।

More News last news
Loading...