भारतबाट सलहको अर्को ठूलो झुण्ड नेपाल आउने खतरा

काठमाडौँ । भारतको भागलपुर तथा मोतिहारीमा रहेको सलहको झुण्ड दार्जिलिङतर्फ अघि बढेकोले त्यो झुण्ड नेपाल आउन सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रले विशेष सूचना निकालेर दार्जिलिङतर्फ अघि बढेको झुण्ड नेपाल आउनसक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ।

केन्द्रले त्यो झुण्ड नेपाल आएमा तराई, भित्री मधेश र तल्लो पहाडको क्षेत्रमा क्षति गर्ने भन्दै सचेत रहन आग्रह गरेको हो। केन्द्रले निकालेको सूचनामा कतैबाट सलहको झुण्ड आइरहेको छ कि भनेर जानकारी लिइरहन र झुण्ड आएमा भाँडाकुँडा तथा बाजा बजाएर तथा आगो बालेर धुवाँ फैलाइ आफ्नो बालीनालीमा बस्न नदिन प्रयास गर्न अनुरोध गरेको छ।

Advertisement

यसैबीच तराईको बारा तथा रुपन्देही क्षेत्रबाट नेपाल प्रवेश गरेको सलह अहिलेसम्म २४ भन्दा बढी समूहमा बाँडिएर देशका ३१ भन्दा बढी जिल्लामा पुगेको केन्द्रले जनाएको छ। सबैभन्दा बढी रुपन्देहीमा प्रवेश गरेको झुण्डमा झण्डै २५ लाख सलह किरा रहेका छन् भने मकवानपुर प्रवेश गरेको झुण्डमा १० लाखभन्दा धेरै सलह रहेको केन्द्रले अनुमान गरेको छ।

सलहले विभिन्न ठाउँमा मकै, केरा, तरकारीलगायतका बालीनालीमा क्षति गरेको पनि केन्द्रले जनाएको छ।

काठमाडौँमा आइपुगेको सलह किराले सामान्य क्षति गरेको कृषि विज्ञले बताएका छन् । काठमाडौँमा प्रवेश गरेको झुण्ड सानो रहेको र यसले सामान्य प्रभाव पारेको वरिष्ठ कृषि विज्ञ डाक्टर केदार बुढाथोकीले बताउनुभयो।

काठमाडौँ उपत्यका प्रवेश गरेको झुण्डमा झण्डै दुई लाख सलह रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।

More News last news
Loading...