केपी ओली प्रधानमन्त्री बन्न योग्य रहनुभएन, नेकपाले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाओस् : प्रदीप पौडेल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले नेकपाले प्राप्त गरेको जनमत ऐतिहासि भएको भन्दै सो जनमतअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका हुन् । उनले भने,‘नेकपाले प्राप्त गरेको यो जनमत सायद अरुले प्राप्त गरेको छ।
प्रदेश सरकारको कुरा गर्दापनि ७ वटामध्ये ६ वटामा नेकपाको सरकार छ । जनताले यो भन्दा बढि समर्थन कसैलाई दिन सक्दैनन् । म प्रश्न गर्न चाहन्छु जनताले कतिसम्म समर्थन गर्यो भने यो सरकारले काम गर्ने हो ?’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पौडेलले वर्तमान प्रधानमन्त्री ओलीले नक्सा पारित गरेको पर्दाभित्र आफूले गरेका सबै कुकृत्य लुकाउन खोजिएको आरोप लगाएका छन् । वर्तमान सरकारले जनताको जनजीवन उकास्न केहीपनि काम नगरेको उनको भनाई छ।
उनले भने,‘कोभिड नियन्त्रणको लागि केहीप्नि नगर्ने, अनि सबै कुरा नक्सा जारीमा देखाउन खोज्ने । यसकै पर्दाभित्र धेरै नराम्रा काम भए । यो सरकारले कोभिड–१९ नियन्त्रण गर्न सकेन् । मैले पूर्वाग्रही भनेर भनेको होईन् । कोभिडको जोखिमका बावजुदपनि सरकारको विरोधमा सडकमा विरोध तथा प्रदर्शन भैरहेका छन् । प्रतिपक्षको पनि सरकारले धेरै सहयोग प्राप्त गरेको स्थिति हो । यति धेरै सहयोग प्राप्त हुँदापनि यो सरकारले केहीपनि गर्न सकेन्।’
उनले प्रधानमन्त्री ओलीले भारतबाट नेपाल आउने नेपालीहरुलाई नआउ भनेर दिएको अभिव्यक्ति उल्लेख गर्दै भने–‘बरु उहाँले के भन्नुपर्दथ्यो भने म तपाईहरुलाई बोलाउँछु । धैर्यतासहित अहिले त्यहीँ बस्नुहोस । म घर पुर्याउँछु भन्नुपर्दथ्यो । प्रधानमन्त्रीले यति भनिदिएको भए कोरोना नियन्त्रणमा सहयोग पुग्दथ्यो । तर, उहाँको अभिव्यक्तिका कारण आज कोरोना नियन्त्रण हुन सकेन्।’
उनले सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा देशभरिका क्वारेन्टिन भेडाबाख्राको खोरजस्तै भएको पनि टिप्पणी गरे । उनले भने,‘क्वारेन्टिमा भौतिक दूरी कायम गर्न सकिएको छैन् । सरकारले स्थानीय सरकारहरुलाई साधन स्रोत उपलब्ध गराएन । कोभिड १९ कोषमा जम्मा भएको पैसा तल दिएको भए हुन्थ्यो नि । कोभिड नै नआएकोजसरी बजेट ल्याईयो । सरकारले रोजगारी सुनिश्चित गर्ने बजेट ल्याउन सकेन ।’ लाखौंको संख्यामा युवाहरु विदेशबाट नेपाल आउने उल्लेख गर्दै उनले यस्तो अवस्थामा रोजगारीको लागि कृषि वैकल्पिक क्षेत्र भएकोले सोहीअनुसार सरकारले योजना र कार्यक्रम ल्याउनुपर्ने थियो भन्ने धारणा राखे ।
सरकारले प्रकाशित गरेको निर्देशिकाअनुसार लक्षण नभएकालाई अब क्वारेन्टिनमा बसेकाहरुलाई कोरोना नै परीक्षण नगरी घर पठाउने भनिएको पनि उनले आक्रोश पोखे । उनले भने,‘क्वारेन्टिनमा बसेकाहरु फेरि परीक्षण नगरी घर पठाउने कुरा छ, सरकारको उपस्थ्तिि कहाँ देखियो । राहत कसलाई दिने हो ? त्यो पनि छनौट गरेको देखिएन । सामान्य व्यवसायदेखि ठूला उद्योग तथा व्यवसायलाई पनि सहयोग गर्न सकेन् । नेपालजस्तो कडा लकडाउन संसारमा अरु कतै छैन् । कोरोना नियन्त्रण होईन, दिनदिनै बढिरहेको छ।’
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले साउनमा ४० हजारसम्म संक्रमित पुग्ने उल्लेख गरेको सुनाउँदै पौडेलले कोरोना संक्रमण बढिरहेको अवस्थामा एक लाखसम्म देखिने अवस्था पुग्ने आँकलन गरे । उनले भने,‘अझै मास लेभलमा परीक्षण भएकै छैन् । आफ्नै निकायले आरटिडी किनेकोकिनै गर्ने ?’ उनले कोभिड नियन्त्रणमा पनि प्रधानमन्त्री अोली असफल भएको दाबी गरे ।
उनले थपे,‘उहाँले यो बीचमा अध्यादेश ल्याउनुभयो । पार्टी फुटाउनको लागि । प्रतिपक्षी दललाई संवैधानिक परिषदमा नराख्नेतर्फ लाग्नुभयो । मलाई भारतले फाल्न खोज्दैछ भन्नुभयो । नक्सा जारी गरेपछि फाल्न खोजियो भन्नुभयो । त्यो कुरा संविधानमा व्यवस्था छैन् । संसदमा बहुमत समर्थन जुटाउने प्रधानमन्त्री बन्ने हो । नेकपाको मात्रै झण्डै दुई तिहाईको बहुमत छ । कि त प्रधानमन्त्रीले भन्नुभयो ? मेरो पार्टीका नेता तथा सांसद भारतका एजेण्ट हुन भन्नुपर्यो । यस्तो अभिव्यक्ति उहाँले दिनुभयो । देशको प्रधानमन्त्रीले कुटनीतिक हिसाबले यस्तो अभिव्यक्ति किमार्थ दिन हुँदैन् ।’
नेपालका नयाँ नक्सा पारित गर्दा त्यसको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको कुरामा आफूहरुले प्रशंसा गरेको पनि उनले सुनाए । तर, प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने क्रममा ‘सिंह मयते जयते’ किन भन्नुभयो र भारतलाई किन चिढ्याउनुभयो ? भन्ने पौडेलको प्रश्न छ । भारतबाट कडा कोरोना आयो भनेर प्रधानमन्त्रीले बोलेको पनि उनले आपत्ति जनाए।
उनले अघि थपे,‘के नेकपाभित्र भएका सबै मान्छे भारतका दलाल हुन ? त्यसैले प्रधानमन्त्रीले आफ्नो मर्यादा कायम गर्न सक्नुभएन । उहाँमा मानसिक अन्तुलन देखियो । वार्ता गर्नुपर्ने छ भारतसँग । भारतलाई टेबुलमा नआउ भनेजस्तो गरेर अभिव्यक्ति दिने ? यसले देशलाई असर गर्छ । देशको प्रधानमन्त्री यति हुलको र यस्तो वेटलेश भएपछि यो देशको प्रोटेक्ट कसरी हुन सक्छ ?’
आफ्नो पार्टीले प्रधानमन्त्री ओलीले राम्रोसँग नेतृत्व गर्न नसकेको भनेर यसअघि नै निश्कर्ष निकालेको पनि उनले स्मरण गराए । उनले भने,‘हामीले पहिल्यै नै यो निश्कर्ष निकालेका हौं । केपी ओलीभन्दा योग्य मान्छे नेकपाभित्र को छ ? ल्याउनुहोस् । हामी सरकारमा जाने र बनाउने हैसियत पनि छैन् । उहाँको कार्यशैली ठिक भएन् । आज ओलीजीमात्रै असफल होईन, संसदीय व्यवस्था पनि असफल हुन्छ । त्यही भएर प्रधानमन्त्री फेर्नुहोस भनेको हो।’
पौडेलले नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको कार्यशैली र योग्यताको बारेमा प्रश्न पहिल्यै उठाईसकेको सुनाए । उनले थपे,‘कांग्रेस ५ वर्षको लागि सरकारमा जाँदैन् । हामीलाई यो म्याण्डेट प्राप्त छैन् । नेकपाले नै हो सरकार चलाउने । देउवाले सत्तामा जाने चेष्टा गर्नुभयो भने उहाँले पार्टीबाट समर्थन पाउनुहुुन्न ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
