काठमाडौँ । बाढी पहिरो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाको अगुवाईमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।
सोमबार डा. संग्रौलाको प्रस्तावलाई काँग्रेसका अन्य दुई सांसदहरू लक्ष्मी परियार र देवप्रसाद तिमल्सिनाले समर्थन गरेका छन्।
हरेक वर्ष वर्षायामको समयमा बाढी र पहिरोका कारण धनजनको क्षति हुँदा पनि सरकारले पूर्वतयारीमा ध्यान नदिएको, नेपालको कुन क्षेत्रमा बाढी पहिरोको जोखिम छ भन्ने विशेषज्ञबाट पत्ता लगाई नियन्त्रणको कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने सांसद संग्रौलाले बताएकी छन् ।
भारतले एकतर्फी रुपमा दशगजामा बाँध, तटबन्ध र सडक निर्माण गरी नेपाली भूभाग डुवानमा पारेकाले समस्या समाधानका लागि कुटनीतिक पहल गर्न, भारतले झापादेखि कञ्चनपुरसम्म अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरीत बनाएको बाँध, तटबन्ध र सडक पत्ता लगाई स्थायी समाधानको पहल गर्न दर्ता गरेको प्रस्तावमा उल्लेख गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
