काठमाडौँ । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपका क्रममा गोली चलेको भनिएको छ। यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन।
हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्लास्थित सशस्त्र प्रहरी बलको टोली पुगेको छ । प्रारम्भिक विवरण अनुसार गोलीको छर्रा लागेर केही व्यक्ति घाइते भएका छन्।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सानो निहुँबाट भएको झगडा राजनीतिकरण भएर ठूलो रुप लिएको बताए।
उनले भने, ‘एक-दुई जनाबाट झगडा सुरु भएको झगडाले उग्ररुप लिएको हो। एक दर्जनभन्दा बढी घाइते भएका छन् । अहिले स्थिति नियन्त्रणमा छ।’
घटनामा केही व्यक्तिलाई गोलीको छर्रा लागेको उनले जानकारी दिए। तर, कुन पक्षबाट गोली प्रहार भएको भन्ने स्पष्ट भइनसकेको जिसीको भनाइ छ।
अधिकांशको ढाडमा गोली लागेको एक प्रहरी अधिकृतले बताए। उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ। सबैलाई उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ । धनकौल कांग्रेस सांसद अमरेश कुमार सिंहको निर्वाचन क्षेत्र हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
