कोभिड-१९ को विषयमा हुने बैठकमा भाग लिनका लागि डेनमार्ककी प्रधानमन्त्री म्याट फ्रेडरिब्सनले आफ्नो विवाह स्थगित गरेकी छिन्। ४२ वर्षकी म्याटको विवाह रोकिएको यो तेस्रो पटक हो । पछिल्ला दुई कारण भिन्न थिए । म्याट र उनका प्रेमी बो टेनबर्गको जुलाई १८ मा विवाह हुने निश्चित गरिएको थियो तर त्यहि दिन युरोपेली युनियन (इयू) का राष्ट्र प्रमुखबीच बैठक बोलाइएको छ।
डेनमार्कमा हालसम्म १२ हजार बढी संक्रमित भेटिएका छन् भने ६ सय ३ जनाको मृत्यु भएको छ।
१७ र १८ जुलाईमा इयू सम्मेलनः
महामारी सुरु भएपछि १७ र १८ जुलाईमा इयूका नेता पहिलो पटक प्रत्यक्ष भेटघाट गर्दैछन्। उक्त छलफलमा महामारीका कारण भएको आर्थिक क्षती र यससँग जुध्नका लागि उपायबारे चर्चा हुनेछ। इयूले ८४६ अर्ब डलरको प्रस्तावबारे विचार गरिरहेको छ।
यसमा ती देशलाई आर्थिक मद्दत दिइनेछ जो संक्रमणद्वारा सबैभन्दा धेरै प्रभावित छन्। डेनमार्क, स्विडेन, अष्ट्रिया र नेदरल्याण्डले यसको विरोध गरिरहेका छन् । उनीहरुका अनुसार आर्थिक मद्दत प्रदान गर्नु अघि सम्बन्धित देशले उक्त रकम फिर्ता दिने नदिने कुरा निश्चित गर्नुपर्नेछ । तसर्थ, यो छलफल महत्वपूर्ण छ।
डेनमार्कको हित पहिलो प्राथमिकताः म्याट
आफ्नो विवाह स्थागित गरिएको बारे फेसबुकमा जानकारी दिँदै म्याटले लेखिन्, ‘मेरा लागि डेनमार्कको हितको हिफाजत गर्नु सबैभन्दा पहिलो प्राथमिकता हो । म यी शानदार व्यक्तिसँग विवाह गर्न चाहन्छु । तर अहिलेका लागि यो सहज जस्तो देखिँदैन। ब्रसेल्समा मिटिङ छ । तर हामी चाँडै नै विवाह गर्नेछौं । मेरा पार्टनर निकै संयम राख्ने व्यक्ति हुन् ।’
बीबीसीको एक रिपोर्ट अनुसार म्याट र बोको विवाह रोकिएको यो तेस्रोपटक हो । स्मरण रहोस्, म्याट सन् २०१९ मा ४१ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन् । उनी देशकी सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
