एफएमसीजी (फास्ट मुभिङ कन्ज्यूमर गुड्स) कम्पनी युनिलिभरले गोरोपनलाई कथित रुपमा महत्व दिने आफ्नो फेस क्रिमको मार्केटिङको तरिका परिवर्तन गर्ने निर्णय गरेको छ।
बिहिबार युनिलिभरले यस्तो घोषणा गरेको हो। कम्पनीले एक बयान जारी गर्दै अबको केहि हप्तामा ‘फेयर एण्ड लभ्ली’ ब्रान्डको नाम परिवर्तन गर्ने जानकारी दिएको छ।
यतिमात्रै होइन, कम्पनीले आफ्नो उत्पादनमा गोरो वा गोरोपनजस्ता शब्दको प्रयोगसमेत नगर्ने बताएको छ। कम्पनीका अनुसार छालाको हेरविचार गर्ने क्षेत्रमा सुन्दरताबारे मानिसहरुको दृष्टिकोण परिवर्तन भइरहेको छ र यसमा सबै तप्कालाई समावेश गरिनेछ।
कम्पनीको ब्यूटी एण्ड पर्सनल केयर डिभिजनका प्रेसिडेन्ट सन्नी जैनले भने, ‘आफ्नो स्किन केयर ब्रान्डको ग्लोबल पोर्टफोलियोका विषयमा हामी पूर्ण रुपमा समर्पित छौं। यसले सबै रङ र प्रकारको स्किन टोन्सलाई ध्यानमा राख्नेछ। हामीलाई लाग्छ कि फेयर, ह्वाइट र लाइजजस्तो शब्दले सुन्दरताको एकतर्फी दृष्टिकोणलाई बयान गर्छ। हामीलाई लाग्दैन कि यो सही हो र हामी यसमाथि ध्यान दिन चाहन्छौं।’
बजारमा अत्यधिक मागः
फेयर एण्ड लभ्ली ब्रान्ड भारतबाहेक बंगलादेश, इन्डोनेशिया, थाइल्याण्ड, पाकिस्तान र एशियाका अन्य देशमा पनि बेचिन्छ।
केहि दिनेदखि सोसल मिडियामा संसारभरीका यस्ता उत्पादनविरुद्ध असन्तुष्टिको माहौल देखिएको थियो।
समाजमा गोरोपनको प्रेमका कारण दक्षिण एशियाको बजारमा यस्ता उत्पादनका लागि बढ्दो माग छ।
युनिलिभरको फेयर एण्ड लभ्ली ब्रान्डको दक्षिण एशियाको बजारमा ठूलै दबदबा छ । यद्यपि, लोरियल र प्रोक्टर एण्ड ग्याम्बल पनि यस्ता उत्पादन बनाउँछन्।
अमेरिकामा जर्ज फ्लोयडको मृत्युपछि सुरु भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानको क्रममा केहि हप्तादेखि यी कम्पनीले यस्ता उत्पादनमार्फत् ‘रङ्गभेद’ लाई प्रोत्साहन दिएको भन्दै कडा आलोचना खेप्नु परेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
