गैरआवासीय नेपालीले अब यसरी पाउनेछन् नेपाली नागरिकता

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पास भएको नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधि सभामा बुझाइको छ।

२०७५ साउन २२ गते संसद सचिवालयमा दर्ता भएको सो विधेयक झण्डै २ वर्षदेखि समितिमा विचाराधिन अवस्थामा थियो । संसदीय समितिबाट पास भएको सो विधेयकमा गैरआवासीय नेपालीलाई पनि नागरिता दिने प्रावधान समेटिएको छ ।

Advertisement

नेपाल नागरिकता ऐन २०६३ को मूल ७ ९क० थप गरिएको छ । जसमा गैरआवासीय नेपाली नागरिकता प्रास्त गर्नसक्ने व्यवस्था गरिएको छ । जसमा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ भन्ने व्यवस्था गरिएको छ ।

सो दफाबमोजिम नागरिकता लिन चाहने व्यक्तिले निम्न कागजात संलग्न गरी मन्त्रालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित ब्यक्तिले साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण र नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र सहितको निवेदन दिएका ब्यक्तिलाई गृह मन्त्रालयले आवश्यक सबुद प्रमाण बुझी निजलाई तोकिए बमोजिम गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको छ ।

साविकमा नेपालको नागरिकता लिएको व्यक्तिलाई गैरआवासीय नेपाली नागरिकता दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र खिची यस दफा बमोजिमको नागरिकता दिनुपर्ने व्यवस्था छ। साथै गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहितविपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेकोगैर आवासीय नेपाली नागरिकता रद्द गर्ने प्रावधान समेटिएको छ । गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई शपथ गराउनुपर्ने व्यवस्था समेत गरिएको छ।

More News last news
Loading...