पर्वत पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ५ पुग्यो

काठमाडौं । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पहिरोले पुरिएर चार जना अझै बेपत्ता छन् ।

शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो। आज बिहान थप दुई जना दीपा थापा र कमला विकको शव फेला परेको हो ।

Advertisement

थापाको घरमा रहेका अन्य दुई र कमला विकको घरमा रहेका दुई जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक छन्। उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए। राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए ।

शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको छ ।

More News last news
Loading...