काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा आर्थिक वर्ष ०७७।७८ को लागि प्रस्तुत बजेट परिणाममुखी भन्दा प्रचारमुखी रहेको देखिएको आरोप लगाएको छ ।
नेपाली कांग्रेस सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाज्यूको आज बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेटमा जनतालाई आश्वासन दिने तर कार्यान्वयन नहुने खालका कार्यक्रम मात्र समावेश गरिएको भन्दै प्रचारमुखी रहेको जनाएको छ । बैठकपछि संसदीय दलद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘विगत दुई महिना भन्दा बढी समय देखि कोरोना भाइरसको कारण शिथिल भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र तत्काल कार्यान्वयन हुने खालको कुनै पनि कार्यक्रमहरु यस बजेटमा समावेश भएका छैनन् ।’
त्यसै गरी महामारीको प्रकोपबाट पिडित निजी क्षेत्रका उद्योग, व्यवसायलाई सम्बोधन हुने कुनै पनि ठोस कार्ययोजनाहरुलाई बजेटले सम्बोधन गरेको छैन । नेपालको मुख्य समस्या मध्येको एक रोजगारी हो, कोरोनाको प्रभावबाट भविष्यमा हुने रोजगारीको संकटलाई समाधान गर्न सरकारले स्वदेशमा नै पर्याप्त रोजगारी सृजना गर्ने खालका कुनै पनि योजनाहरुलाई यस बजेटले प्राथमिकतामा राखेको छैन । ’ राष्ट्र र जनताको हित विपरितको सरकारले ल्याएको बजेट आफूहरुलाई स्वीकार्य नहुने समेत काँग्रेसले जनाएको छ ।
बजेट बिशेष बैठकमा विज्ञका रुपमा पूर्व अर्थ मन्त्री डा. रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्द राज पोखरेल र डा. स्वर्णीम वाग्ले तथा अर्थविद् डा. विश्व पौडेलले बजेटमा भएका त्रुटीमा बारेमा सुझाव तथा रायहरु पेश गरेका थिए ।
यसैगरी, बैठकले गत जेष्ठ ९ गते पूर्व मन्त्री मोहमद अफ्ताब आलमको रौतहट स्थित निवासमा मध्यरातमा ५० भन्दा बढी व्यक्तिहरु हातहतियार सहित गई तोडफोड गरी आंतक सृजना गरेको कार्य प्रति भत्र्सना गरेको छ ।
बैठकले गत जेष्ठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोतीमा पाँच जनाको मृत्यु, एक जना हालसम्म पनि वेपत्ता र पाँच जना गम्भीर घाइते हुने गरी भएको हिंसात्मक घटनामा गहिरो दुःख व्यक्त गर्दै घटनाको सत्यतथ्य एवं न्यायपूर्ण छानविन गर्नका लागि संसदीय छानविन गठनका लागि सरकार सँग माग पनि गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
