सांसद कोषको रकम कोरोनाविरुद्ध प्रयोग गर्न कांग्रेसका १२ युवा नेताहरुको सुझाव

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेताहरुले कोरोना महामारीले ल्याएको संकटको समयमा खर्च कटौती गर्न सांसद विकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राखिनु पर्ने बताएका छन्।

उनीहरुले पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षासमेत कटौती गरी जनताको हितमा लगाउन सरकारलाई सुझाव दिएका छन्।

Advertisement

चन्द्र भण्डारी, धनराज गुरुङ, रत्ना शेरचन, गुरु घिमिरे, कमला पन्त, गगन थापा, बद्री पाण्डे, प्रदीप पौडेल, जीवन परियार, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले जारी गरेको अपिलमा सुरक्षाकर्मीको तलब काट्ने कुराको विरोध गरिएको छ।

उनीहरुले राष्ट्र संकटबाट गुज्रिरहेको बेला भ्रष्टाचारमा संलग्न भएका पात्रले अहिले कुनै कारणबाटठ्ठ उन्मुक्ति पाए पनि उचित समयमा उनीहरु दण्डित हुने बताएका छन्। उनीहरुले भनेका छन् “यस संवेदनशील घडीमा भष्ट्राचारको कल्पना गर्नु र त्यसमा संलग्न हुनु निम्नकोटीको अपराध हो। यस्ता अपराधीहरुलाई राष्ट्रले माफ गर्न सक्तैन।”

उनीहरुले लकडाउन मात्र सम्पूर्ण समस्याको समाधान नभएको भन्दै सरकारलाई १० बुँदे बैकल्पिक सुझाब समेत दिएका छन् ।

अपिल
२०७६।१२ ।२७
यतिबेला बिश्व कोरोना भाइरस (कोबिड-१९) को जघन्य महामारीबाट आक्रान्त बनेको छ। संसारका लगभग शतप्रतिशत देशहरु यसको प्रकोपमा परेका छन्। यो मानव सभ्यता माथिकै दुर्लभ संकट हो। सरकार भनेको जनताको अभिभावक हो। नेपाल जस्ता विकासशिल राष्ट्रका लागि त यस्ता महामारी गम्भिर चुनौती र खतरा हुन। अहिले हामी यहि संकट झेलिरहेका छौं। कोरोनाले विश्वव्यापी रुप लिएसँगै हामीसँग लकडाउनको बिकल्प थिएन र निकै अघिबाटै देखाइनु पर्ने तदारुकता ढिलै भएपनि अवलम्बन गर्नु सराहनिय कदम थियो। जनतालाई जस्तासुकै संकटबाट पनि जोगाउन र बचाउन सक्ने सामर्थ्य सरकारसँग हुनु पर्दछ। अहिलेको संकटबाट नेपाली जनतालाई बचाउनु र अभिभावकत्व दिनु बर्तमान सरकारको दायित्व हो। लकडाउन मात्र सम्पूर्ण समस्याको समाधान होइन। त्यसैले नेपालले अवलम्बन गर्नु पर्ने केही बिकल्पहरुका बारेमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।

१-अहिले सम्म भइरहेको परिक्षणको गति अत्यन्त सुस्त छ। यस्तो गतिमा गरिने परिक्षणले भाइरस संक्रमित ब्यक्तिको तिब्रगतिमा पहिचान हुन सक्दैन। तसर्थ सरकारले परिक्षणको दायरा र गति बढाउनु पर्दछ। यसका लागि परिक्षण केन्द्रहरू अविलम्ब थपिनु पर्दछ। साथै कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचानका लागि आबश्यक पर्ने परिक्षणका लागि चाहिने परिक्षण किट, पिपिइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गरिनुपर्छ, जसका कारण कोरोना नियन्त्रण अभियानमा कुनै पनि कारणले अबरोध उत्पन्न नहोस्।

२-यस माहामारी कै कारण बिदेशबाट नेपाल आउन चाहने नेपालीहरुलाई सहजै आउनदिने ब्यवस्था मिलाइनु पर्छ।सिमामा आइपुगेका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई नेपाल प्रवेश गराइ क्वारेन्टाइनमा राखिनुपर्छ। आबश्यक स्वास्थ्य परिक्षणको प्रकृया पुरा भएपछि मात्र घर जाने व्यवस्था मिलाइनु पर्दछ।

३-विश्वव्यापी कोरोना संक्रमणको महामारीबाट राष्ट्र आक्रान्त बनेको समयमा आफ्नो जीवनलाई उच्च जोखिममा राखेर जनसेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतका सम्बन्धित सबै ब्यक्तिहरुको बारेमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्दछ। सुरक्षाकर्मीहरुको तलब कटाउने कार्य सर्वथा अनुचित छ। सरकारको यो निर्णयले यस अभियानमा लागेका सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याएको छ।

४-स्वास्थ्यकर्मी लगायतका सम्बन्धित सबैको आर्थिक सुरक्षा र प्रोत्साहन स्वरुप बिमा र यथेष्ठ भत्ताको व्यवस्था गरिनुपर्छ।

५-यस सड्कटको समयमा खर्च कटौति गर्नको लागी सांसद बिकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राखिनु पर्दछ। साथै पुर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा समेत कटौंति गर्दै जनताको हितमा लगाउनु पर्दछ ।

६ -दैनिक ज्याला मजदुरी गरेर बाँच्ने गरिब नेपालीहरु तथा बृद बृद्दा हरुका लागि यथोचित राहतको व्यवस्था गरिनु पर्दछ।

७-संसारभर रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका बारेमा विदेशस्थित नेपाली दूतावास र अन्य कुटनीतिक माध्यमबाट जानकारी हासिल गरि आबस्यक सहयोग गर्नु पर्दछ।

८-यस महामारीका कारण नेपालीहरुको दैनिक जनजीवन अस्तब्यस्त बन्दै गएको छ।किसान हरुका पशुचौपाया समेत खाद्यान्न को अभावमा परेर मर्ने खतरा बढेको छ। सरकारले यस विषयलाई समेत गम्भिरतापूर्वक लिई उपयुक्त कदम चाल्नु पर्दछ।

९-इतिहासमा बिरलै आइपर्ने यस्ता महामारी र घनघोर संकटसँग हामी सबै नेपाली एकजुट भएर जुझ्नुको बिकल्प छैन। यस्तो बिपदको बेलामा सरकार चलाउने मुख्य ब्यक्तिले टर्रो र गैरजिम्मेवार अभिव्यक्ति दिनु हुदैन।

१०-राष्ट्र संकटबाट गुज्रिरहेको यस संवेदनशील घडीमा भष्ट्राचारको कल्पना गर्नु र त्यसमा संलग्न हुनु निम्नकोटीको अपराध हो। यस्ता अपराधीहरुलाई राष्ट्रले माफ गर्न सक्तैन। अहिले कुनै कारणबाट त्यस्ता पात्र र प्रवृत्तिले उन्मुक्ति पाएपनि उचित समयमा उनिहरु दण्डित हुने छन्। हामी नेपालीहरूले आफ्नो देशको मात्र होइन, संकट परेको बेला विश्वलाई नै योगदान दिन सक्छन् भन्ने सन्देश दिदै आफ्नो कुशल नेतृत्व र भूमिका प्रदर्शन गर्न सक्नु पर्दछ।

नेपाली काग्रेसका केन्द्रिय सदस्यहरु – डा चन्द भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ, किरण यादव।

जय नेपाल ।

More News last news
Loading...