काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छिन् ।
नोवल कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीका सन्दर्भमा देशवासीका नाममा आज साँझ सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक रहेकामा जोड दिइन् ।
जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको हो भन्दै उहाँले यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गरिन् । संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहन नसके पनि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण नदेखिएको बरु बाहिरबाट संक्रमित भई आएकाहरुलाई पत्ता लगाएर उपचार गरिएको अवस्था भएको बताउँदै राष्ट्रपति भण्डारीले नेपाल सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र फैलन नपाएको स्पष्ट पारिन ।
लकडाउनले गर्दा हाम्रो दैनिक जीवनमा केही अप्ठ्यारा सिर्जना भए पनि सबैलाई आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घर बाहिर ननिस्कन पनि राष्ट्रपतिले आह्वान गरिन । “पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको छ । यसले सम्पूर्ण उद्योगधन्दा र व्यापार व्यवसायलाई नकारात्मक असर पु¥याएको छ ।
यस परिस्थितिमा दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवी सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको छ । यसको लागि नेपाल सरकारले विभिन्न राहत प्याकेजको घोषणासमेत गरिसकेको छ”, सन्देशमा उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
