गोबिन्द मरासिनी /काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन पुरै नेपाल लकडाउन गरिएको छ । जसले सधैभरी कामकाजमा ब्यस्त हुने स्थानीयहरुको दैनिकी नै फेरिएको छ । देशमा उद्योग, कलकारखाना, ब्यापारिक बजार, सबै कार्यालय बन्द छन् ।
कोरोना भाइरस अर्थात कोभिड १९ को जोखिमबाट जोगिन सबैजना सेल्फ क्वारेन्टाइनमा छन् । एकदमै अत्यावश्यक कामका अलवा घरभन्दा बाहिर निस्केका छैनन् । कोरोनाको महामारीले नेपालीको मनोरञ्जनात्मक क्षेत्रमा पनि पुरै असर परेको छ । सिनेमा हल बन्द छन्, नयाँ गीतसंगीत बजारमा आउन सकेका छैनन् । यससँगै नेपाली लोकगीतसंगीतको बजार पनि ठप्प छ । बिशेषतः चैत्र, बैशाख लोककलाकारका लागि फुर्सदिलो समय नै हो ।
अझ विश्वमा नै कोरोनाको महामारी फैलिएका बेला झनै फुर्सदिला भएका छन् । कोरोना भाइरसको कारण सधै महोत्सव र विदेशका कार्यक्रममा वढी ब्यस्त हुने लोककलाकार यतिबेला परिवारसँग बसेर विपत्को सामना गरिरहेका छन् । केहि लोककलाकारले सचेतनामुलक गीत संगीतको सिर्जना पनि गरेका छन् ।
नेपाली लोकगीतसंगीतमा चर्चामा रहेमा कलाकार पशुपति शर्माले विश्वमा कोरोनाको त्रास वढिरहेका बेला देखि उनी विदेश भ्रमणमा गएनन् । सामाजिक सञ्जालमार्फत नै कुनै पनि देश तथा विदेशका कार्यक्रममा सहभागी नहुने बताएका शर्माले दोहोरी गीत प्रतिष्ठानको सहकार्यमा कोरोना भाइरस सम्बन्धी जनचेतनामुलक गीतको सिर्जन गरे । प्रायः कलाकारका गीतसंगीतमा रमाउने स्थानीयहरुलाई अहिले उक्त गीतले पनि जनचेतना दिईरहेको छ र फुर्सदको समयमा स्थानीयको घरघरमा बजिरहेको छ । नेपालमा लकडाउन हुनुभन्दा अगाडी नै परिवारसहित गृह जिल्ला स्याङ्जा पुगेका उनी घरमै आमा, वुवा सँग रमाइलो गरेर बसिरहेका छन् ।
अर्को चर्चित गायक पुरुषोत्तम न्यौपानेले पनि यो विपत्को समयमा सबैलाई सचेत हुन आग्रह गरेका छन् । उनले पनि कोरोना भाइरसका बिरुद्ध जनचेतना फैलाउने उद्देश्यले चेतनामुलक गीत बजारमा ल्याएका छन् । गण्डकी प्रदेशसँगको सहकार्यमा सार्बजनिक गीतले कोरोना भाइरसबाट कसरी जोगिने भन्ने सन्देश गीतले दिन खोजेको छ ।
आफ्नै घर स्याङजामा रहेका लोकगायक शिब हमाल आफ्ना बाल्यकालका साथीहरुसँग रमाइलो गरिरहेका छन् । विदेशबाट बाल्यकालकालका साथीहरु आएका मौका छोपेर नाच्ने रमाइलो गर्ने, खोलामा माछा मार्ने लगायतका क्रियाकलापबाट रमाइलो गरिरहेको उनले बताए । उनले सम्पूर्ण नेपालीहरुमा नआत्तिकन सतर्क रहनका लागि आग्रह समेत गरे । यो नयाँ रोग भएको र औषधी नबनिसकेकाले मात्र यस्तो भएको भन्दै उनले कोहि पनि नआतिक सचेत हुनका लागि आग्रह गरे ।
आफ्नो गृह जिल्ला लमजुङमा महोत्सवका कार्यक्रममा पुगेकी गायिका सम्झना भण्डारी घरमै होम क्वारेन्टाइनमा बसेकी छिन् । घरमा परिवारहरुसँग आफ्ना पुराना पुराना गीत सुन्दै समय कटाइरहेकी छिन् । गाउँघरमा हल्का चहलपहल भएपनि सडकमा कुनै चहलपहल छैन त्यसैले उनी गाउँमै घरायसी काममा ब्यस्त छिन् ।
गृह जिल्लामा दाङमा रहेका लोकदोहोरी गीतका पूर्व अध्यक्ष समेत रहेका चन्द्र शर्माले यो विपत्को समयमा आफूहरुले सचेतनामुलक गीत निर्माण गरिसकेको बताए । प्रतिष्ठानले हालसालै धापासीमा निर्माण गरेको नयाँ भवन क्वारेनटाइनका लागि आवश्यक परेको खण्डमा सरकारलाई दिने निर्णय समेत गरेको उनले जानकारी दिए । गाउँघरमा लकडाउनको खासै प्रभाव नपरेपनि आफूले राज्यको नियम पालना गरेको समेत उनले बताए ।
काठमाडौंमा परिवारसँगै सेल्फ क्वारेन्टाइनमा रहेका गायक खुमन अधिकारीले परिवारलाई समय दिएका छन् । अरुबेला बिभिन्न कार्यक्रममा ब्यस्त हुने अधिकारीले अहिले समय पुरै परिवारसँग बिताईरहेका छन् । त्यसका अलवा केहि नयाँ गीतहरु लेख्ने काम पनि गरिरहेका छन् । विश्वब्यापी फैलिएको महामारीसँग जुध्न सरकारका निर्णय राम्रा भएपनि नेपालीहरु भेडा भएर नमान्दा भने उनलाई दुख लागेको छ । उनले सरकारले भनेको मानेर लकडाउनमा बाहिर ननिस्कनका लागि सुझाव समेत दिए ।
काठमाडौंमा परिवारसँग बसेका गायक रामजी खाणँले पनि टिभी हेर्ने, फेसबुक चलाउदै साथीभाइसँगको च्याच गर्दै यो विपत्को समयको सदुपयोग गरिरहेका छन् । उनले यो महामारी रोगसँग सबैजना एकजुट भएर लड्नुपर्नेमा जोड समेत दिए ।
काठमाडौंमै रहेकी गायिका शर्मिला गुरुङ यतिवेला आफ्नै घरायसरी काममा ब्यस्त हुन थालेकी छिन् । सरकारले लागू गरेको लक डाउनलाई पालना गर्दै घरमै आफ्ना ब्यक्तिगत कार्यहरु गरिरहेकी छिन् ।
यसैगरी अर्को लोक गायक बिनोद ढकाल भने लकडाउनका कारण गृह जिल्ला गोरखा जान नपाएपछि काठमाडौंमै परिवारसँग बसिरहेका छन् । उनले यो लकडाउनको समय टिभी हेर्दै र घरायसी काम गर्दै बिताईरहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
