काठमाडौं । नेपाल सरकारले चीन, दक्षिण कोरिया, इटली, इरान र जापानबाट खाद्यान्न, तरकारी, फलफूल र मासु आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार यी ५ देशबाट खाद्यान्न आयातको अनुमति दिन बन्द गरिएको छ ।
‘अहिलेकै स्थितिमा आयातका लागि प्राप्त भएका निवेदनमा कुनै अनुमति जारी गरिएको छैन, हामी अवस्था हेर्दैछौं,’ वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मर्हजनले भने ।
कृृषि तथा पशुपंछी विकास मन्त्रालयले कोरोना अति प्रभावित पाँच मुलुकबाट पशु, खाद्य र वनस्पतिजन्य वस्तुको आयात अनुमति नदिन विभागलाई पत्राचार गरेको थियो । त्यसपछि विभागले ड्राइफुड, स्न्याक्स र स्याउ आयातका लागि अनुमति जारी नगरेको महर्जनले जानकारी दिए ।
अब खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगै प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन विभाग र पशुसेवा विभागले यी ५ देशबाट खाद्यान्न, फलफूल, तरकारी र मासुजन्य उत्पादन आयातको अनुमति दिने छैनन् ।
सरकारको यो निर्णयले चीनसंगको आयात धेरै प्रभावित हुनेछ । चालु आर्थिक वर्षको ७ महिनामा चीनबाट नेपालले १ खर्ब ३२ अर्ब ६२ करोड रुपैयाँको वस्तु आयात गरेको छ । त्यस्तै इटलीबाट ३ अर्ब ६१ करोड, जापानबाट ३ अर्ब ६७ करोड ४२ लाख, दक्षिण कोरियाबाट ५५ लाख, इरानबाट ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
