साउदी राजकुमारसहित राजपरिवारका ३ बरिष्ठ सदस्य थुनामा

बीबीसी । साउदी अरेबियामा राजाका भाइसहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई कारण नखुलाइकनै गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

तीमध्ये दुई पुरुष सदस्यहरू देशका प्रभावशाली व्यक्तित्व हुन्। पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ।

Advertisement

सन् २०१७ मा युवराजले उनीहरूलाई गिरफ्तार गर्न आदेश दिएपछि राजपरिवारका दर्जनौँ व्यक्तित्वहरू र व्यवसायीहरू रियादस्थित रिज कार्लटन होटेलमा सीमित पारिएका थिए।

मोहम्मद बिन सलमानलाई उनका बाबुले सन् २०१६ मा युवराज घोषणा गरेपछि उनी नै खासमा देशका शासक रहँदै आएको मानिन्छ।

गिरफ्तारी शुक्रवार बिहानै गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले जनाएका छन्। तीनजना गिरफ्तार गरिएका पुरुष सदस्यमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ रहेका छन्।

मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिकमन्त्री थिए। शाही परिवारका यी सदस्यका घरमा गार्डहरू मास्क लगाएर कालो पोशाकमा आएका र उनीहरूका घर खानतलाशी गरेका द वाल स्ट्रीट जर्नलले लेखेको छ।

यदि पुष्टि भएमा साउदी अरेबियाका शक्तिशाली युवराज मोहम्मद बिन सलमानले आफ्नो शक्ति एकत्रित पार्ने प्रयत्न गरेको हुन सक्छ। राजकुमार अहमद बिन अब्दुल अजिज देशका संस्थापक राजा अब्दुल अजिजका जीवित एकमात्र सन्तान थिए। र सत्तासीन परिवारका पाका सदस्यमा प्रिय पात्र थिए।

अर्का वरिष्ठ राजकुमार मोहम्मद बिन नायेफ अकस्मात् तीन वर्षअगाडि नहटाउँदासम्म राजगद्दीका उत्तराधिकारी थिए। त्यसअघि आन्तरिकमन्त्रीका रूपमा अल-कायदा लडाकुलाई सन् २००० ताका परास्त पारेको श्रेय पाएका थिए।

अहिलेसम्म अमेरिकी सञ्चारमाध्यममा छापिएका यी समाचारको खण्डन गरिएको छैन, तर साउदी अरेबियामा राजदरबारका मामिला प्राप्य गोप्य राख्ने प्रयत्न गरिन्छ।

असाध्यै पुरातनवादी मुलुक साउदी अरेबियामा मोहम्मद बिन सलमानले सन् २०१६मा आर्थिक र सामाजिक सुधारका कार्यक्रमहरू घोषणा गरेपछि उनको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा भएको थियो।

तर उनी इस्तानबुलस्थित साउदी दुतावासमा भएको साउदी पत्रकार जमाल खशोग्जीको हत्याकाण्ड लगायतमा मुछिएका छन्। पछिल्ला दिनमा साउदी अरेबिया घातक कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्ने उपायमा लागिरहेको छ।

विदेशी तीर्थयात्रुहरूलाई तीर्थयात्रा गर्न रोक लगाइएको छ र धेरै महत्त्वपूर्ण वार्षिक हज होला भन्नेमा पनि प्रश्न उठेको छ। बिहीवार इस्लाम धर्मावलम्बीहरूको पवित्र शहर मक्कालाई पूर्ण रूपमा सफा गर्न खाली गरिएको थियो।

More News last news
Loading...