पोखरा । नेपाली कांग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनीत भएका छन्।
शुक्रबार बसेको नेपाली कांग्रेस कास्की जिल्ला समितिको बैठकले जिल्ला सदस्य सिग्देललाई प्रवक्तामा मनोनयन गरेको हो। उनी २ दशक अघिदेखि निरन्तर रुपमा राजनीतिमा सक्रिय छन्।
नेविसंघको राजनीतिमा रहँदा उनी पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २ पटकसम्म उम्मेदवार बनेका थिए। एकपटक सदस्य र अर्कोपटक सभापति पदमा निर्वाचन लडेका उनले निर्वाचनका क्रममा सार्वजनिक मुद्दासमेत खेपेका थिए।
त्यस्तै, लोकतान्त्रिक आन्दोलनका क्रममा पक्राउ परेका सिग्देल नेपाल विद्यार्थी संघ कास्कीको सभापति, नेपाली का्रग्रेस क्षेत्र नं २ को क्षेत्रीय सदस्य हुँदै कांग्रेसको १३ औं महाधिवेशनमा तत्कालीन कास्की क्षेत्र नं २ बाट जिल्ला सदस्यमा निर्वाचित बनेका थिए।
जिल्लाको पार्टी प्रवक्ता मनोनीत भएसँगै उनले पार्टीलाई मजबुद र सशक्त बनाउनु आफ्नो कर्तव्य भएको बताए।
उनी नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष समेत हुन्। बैठकले रिक्त जिल्ला सदस्य पदमा पोखरा ३१ का देवेन्द्र रानाभाट र पोखरा १७ का प्रेम परियारलाई मनोनीत गरेको छ।
त्यस्तै, तत्कालीन नेपाल लोकतान्त्रिक फोरम र अखण्ड नेपाल पार्टी, नेपाली कांग्रेससँग मिलेपछि कास्की कांग्रेसले समायोजन गरी २ पार्टीकोतर्फबाट ६ जना जिल्ला सदस्य पनि थप गरेको छ। जसमा अखण्ड पार्टीको तर्फबाट पोखरा–३२ का गणेश केसी, पोखरा २१ का शोभाकर लामिछाने, अर्मलाकी मञ्जुश्री बस्नेत र फोरमको तर्फबाट पोखरा–१० का प्रज्वल रञ्जित, रुपा ७ की दक्षिणा सुवेदी र पोखरा–२९ की लक्ष्मी बास्तोला जिल्ला सदस्य बनेका छन्।
त्यस्तै, आमन्त्रित जिल्ला सदस्यमा पोखरा–१३ का शिरोमणि बराल, पोखरा ३२ का नारायण पौडेल, माछापुच्छ्रे गाउँपालिकाका मेखबहादुर गुरुङ, धितालका दीपक पौडेल, पोखरा–३१ का शिव अधिकारीलाई मनोनीत गरिएको छ।
बैठकले चैत्र १ गतेदेखि पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण अभियान संचालन गर्ने पनि निर्णय गरेको छ। बैठकले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
