काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि अवरुद्ध भएको छ ।
बैठकको प्रारम्भमै कांग्रेसका सांसदहरु आशनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिए ।
सांसद विश्वकर्माले कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताए ।
उनले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा हुने गरी सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको आरोप लगाए ।
कांग्रेसले यही विषयमा विरोध जनाउँदै बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको थियो । यही माघ २२ गते आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सांसद विश्वकर्माको भनाइपछि पनि कांग्रेसका सांसदहरु आफ्नो आशनबाट उभिएर विरोध जनाइरहँदा सभामुख सापकोटाले पटकपटक बैठक सञ्चालन गर्नका लागि आग्रह गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
