सागमा पदक जित्नेहरुलाई आज नगर परिक्रमा गराईने, यस्तो छ रुट

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई आज नगर परिक्रमा गराउँदैछ ।

खेलाडीको सम्मानमा राखेपले शुक्रबार दिउँसो उपत्यकाको विभिन्न स्थानको परिक्रमा गराउन लागेको हो । पदक विजेतालाई काठमाडौँ, भक्तपुर र ललितपुरमा विभिन्न स्थानको परिक्रमा गराउने कार्यक्रम तय गरिएको छ । नगरपरिक्रमा बिहान ११ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुनेछ ।

Advertisement

त्यसपछि न्युरोड, ईन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोवाटो, कोटेश्वर, जडिबुटी, नयाँ ठिमी, सल्लाघारी, सुर्यविनायक चोकको परिक्रम पछि पुनः सल्लाघारी, नयाँ ठिमी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुने कार्यक्रम छ ।

१३ औँ सागमा समावेश विभिन्न २६ खेलमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काँस्य पदक जितेको थियो । नेपाल पदक तालिकामा दोस्रो भएको थियो । पदक विजेता खेलाडीलाई सरकारले भर्खर पुरस्कार राशीको घोषणासमेत गरिसकेको छ । सरकारले स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र काँस्यलाई तीन लाख रुपैया पुरस्कार दिने घोषणा गरेको छ ।

एक भन्दा बढी स्वर्ण विजेता खेलाडीलाई ११ लाख र टीम स्पर्धामा स्वर्ण विजेतालाई जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा सरकारले गरेको छ ।

More News last news
Loading...