कुमार बाबु हितंगा/स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका बिभिन्न स्थानहरुमा सडक निर्माण तथा स्तरोन्नती सम्बन्धी केन्द्रिय आयोजनाहरु निर्माण अन्तिम चरणमा पुगेका छन् ।
तत्कालीन उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठको पहलमा स्याङ्जा–मिर्मी–बिर्घा–चण्डीभञ्ज्याङ हुँदै गुल्मी, रिडीसम्म सडक अन्तर्गत वैघा–चण्डीभञ्ज्याङ–रिडीको १७ कि.मी. सडक खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नेताहरुको अग्रसरतामा सिफारिस भई तत्कालीन मन्त्री श्रेष्ठको पहलमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यबस्थापन तथा स्थानीय पूर्वाधार अनुदानको सहयोगमा आ.ब. २०७४।०७५ मा ३३ करोड बजेट बिनियोजन भई, टेण्डर प्रक्रिया सहित हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
पूर्व सांसद एवं काँग्रेस नेता शंकर प्रसाद पाण्डेको अग्रसरतामा सुरुवात गरिएको यस गाउँपालिकाको प्रमुख सडक मिर्मी–विर्घा–रुद्रवेणी सडक खण्ड तत्कालीन संविधान सभा सदस्य मोहन प्रसाद पाण्डेको कार्यकालमा उनकै पहलमा स्तरोन्नती भएको थियो । रुद्रवेणी सडक खण्डको लौझामा ठुलो पहिरोको कारणले करिब ६ बर्षदेखि सर्वसाधरणको समस्यालाई मध्यनजर गर्दै अबरुद्ध भएको सडक उनकै सक्रियतामामा १० करोड बिनियोजित भएपछि उक्त सडककको स्तरोन्नती सम्पन्न भएको छ । त्यस्तै अर्को सडक खण्ड अन्तर्गत मिर्मी–विर्घा–रानीघाट करिब १६ कि.मी. सडकका लागि ३२ करोड ८२ लाख बराबरको बजेट बिनियोजन भएको थियो ।
२०७२ सालमा शुरु भई हाल निर्माणको अन्तिम चरणमा रहेको यस सडक र सोही सडक खण्डमा पर्ने ९ करोडको लागतमा बन्दै गरेको स्याङ्जा र पाल्पा जोड्ने रानीघाट पुल लगायतका अन्य कयौं सडक, पुल र अन्य योजनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् । केन्द्रिय स्तरका नेताहरु पूर्व मन्त्री गोपालमान श्रेष्ठ, संविधान सभा सदस्य एवं पूर्व सांसदहरु शंकर प्रसाद पाण्डे, राजु थापा, तत्कालीन काँग्रेस जिल्ला सभापति एवं सांसद स्व.कमल प्रसाद पंगेनी, मोहन प्रसाद पाण्डे लगायतका काँग्रेस नेताहरुको सक्रियता र बिशेष पहलमा स्याङ्जाका बिभिन्न गाउँ बस्तीका सडक र पुलहरु निर्माण अन्तिम चरणमा पुगेको भएपनि अहिले नेकपाका जिल्ला तथा केन्द्रिय स्तरका नेताहरुले हाम्रो पहलमा निर्माण भएका हुन् भनेर प्रचारप्रसार गरेपछि स्याङ्जामा काँग्रेस कार्यकर्ताहरु आक्रोशित बनेका छन् । काँग्रेस नेता श्रेष्ठले बिभिन्न समयमा मन्त्री हुँदा स्याङ्जाका बिभिन्न स्थानहरुमा सडक, बाटो तथा पुल निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
हुन त काँग्रेसले बिकासका धेरै काम गर्ने प्रचार प्रसार गर्न नजान्ने आरोप पनि लाग्ने गरेको छ । स्याङ्जाको बिकासमा लामो समयसम्म बिभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पूर्वमन्त्री श्रेष्ठले आफ्नो क्षेत्रमा धेरै बिकास निर्माणका कामहरु सम्पन्न गरिसकेका छन् । अहिले नेकपा नेतृत्वको सरकारमा भूमि सुधार मन्त्री समेत रहेकी प्रतिनिधि सभा निर्वाचनमा श्रेष्ठलाई पराजीत गरेकी पद्यमा अर्यालले बिभिन्न स्थानमा आफूले राख्ने मन्तब्यमा आफूले नै स्याङ्जाको बिकासमा धेरै काम गरेको दाबी गर्ने गरेकी छिन् ।
स्याङ्जाको पश्चिमी क्षेत्रमा स्थित उक्त गाउँपालिका भौगोलिक हिसाबले विकट मानिएको गाउँपालिका हो । यस गाउँपालिकामा सडक सञ्जालको बिकासलाई कयौं सम्भावनाहरुको रुपमा हेरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
