काठमाडौं । पत्रकार आरती लम्साल डा. भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर कलाश्री अवार्डबाट लम्साललाई सम्मान गरेको हो । भारतीय संविधान निर्माता डा.अम्वेडकरको नामबाट स्थापित उक्त अवार्डबाट नेपालकी पत्रकार लम्साल सम्मानित भएकी हुन् ।
जातीय विभेदको अन्त्य र महिला सशक्त्तिकरणमा योगदान पुर्याए बापत लम्साललाई सम्मान गरिएको हो । जातिय विभेद विरूद्ध अन्तरजातिय बिबाह गरेकी लम्सालले पछिल्लो समय पत्रकारितासँगै विभेद विरूद्धको अभियान समेत चलाईरहेकी छन् । कार्यक्रमा डा. अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियान्ता एवं अग्रज समाजसेवी बिमला गौचन सम्मानित भएकी छन् ।
यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिए । सम्मानित हुनेहरुलाई भारतका केन्द्रिय सामाजिक न्याय मन्त्री एवं राज्य सभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए ।
भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार , मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक बर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
