पोखरा । नेपाली काँग्रेसका शीर्षनेताहरुले नेकपा सरकारले लोकतन्त्रलाई समाप्त पार्न लागेको आरोप लगाएका छन् । उनीहरुले सरकारले संवैधानिक आयोगलाई समेत आफ्नो नियन्त्रणमा लिई तानाशाही प्रवृत्तितर्फ उद्दत रहेको टिप्पणी गरे ।
नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) को वार्षिक साधारण सभालाई शुक्रवार पोखरामा सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाङ्क कोइराला लगायतले सो आरोप लगाएका हुन् ।
सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्लाई आफू अनुकुल हुने गरी प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति समक्ष लालमोहर लगाउन लाने तयारी गरिएको अध्यादेश संसदबाट पास हुन नदिने चेतावनी दिए । देउवाले भने, संविधानले दिएका अधिकार कटौती गर्नेगरी संविधानको धारालाई काटेर संवैधानिक परिषद् आफ्नो आफ्नो अनुकूल हुने गरी ल्याइन लागिएको अध्यादेश संसद र सडकबाट पास हुन दिने छैनांै । प्रधानमन्त्री केपी शर्मा वली संवैधानिक परिषद्को कठपुतली समेत भएको उनले आरोप लगाए ।
कम्युनिष्ट प्रजातन्त्रवादी हुँदै होइनन्, जनताले भोट दिएर जिताए के गर्ने ? प्रश्न गर्दै उनले काँग्रेस एकपटक निर्वाचन हार्दैमा डराउनु पर्ने अवस्था नरहने बताए । चुनाव जित्नकै लागि राष्ट्रवादको खोल ओढेका केपी शर्मा ओली भारतले सीमा मिच्दा किन बोल्न सकिरहेका छैनन्, देउवाले प्रश्न गरे, केपीको खोक्रो राष्ट्रवाद अहिले प्रमाणित भएको छ । सरकारले न्यायपालिकालाई पङ्गु बनाउँदै छ । त्यसतर्फ न्यायक्षेत्रमा व्यक्तिहरु सचेत हुनै पर्छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी तानाशाही बनेको आरोप लगाए । आयोगहरुको नियुक्ति गर्ने, सरकारलाई चेक एण्ड व्यालेन्समा राख्ने संवैधानिक परिषद्लाई आफ्नो हातमा लिएर ओली तानाशाही व्यवस्था लाद्न खोज्दै छन्, उनले भने, संवैधानिक परिषद् आफ्नो हातमा लिनु लोकतन्त्र, संविधान र संघीयताविपरीत छ ।
महामन्त्री शंशाङ्क कोइरालाले लोकतन्त्र नै समाप्त पार्ने गरी केपी ओली र पुष्पकमल दाहाल अगाडि बढेको बताए । कानून व्यवसायीले पनि कुन कुन अंगमा संविधानविपरीत कार्य भएका छन् त्यसका बारेमा खवरदारी गर्न जरुरी भएको सुझाए ।
पार्टीका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले काँग्रेस पार्टी कमजोर हुनुमा पार्टीका नेतामात्र नभई प्रजातन्त्रवादी कानून व्यवसायीको पनि त्यति नै दोष भएको बताए ।
नेपाल वार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले राष्ट्रपति मतियार भएर प्रदेश प्रमुख हटाउने र राजदुतहरु जिकाउने काम भएको आरोप लगाए ।
एशोसिएसन अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वार उपाध्यक्ष सुश्मा बास्कोटा बराल, पूर्व न्यायपरिषद् सदस्य दीपेन्द्र केशरी न्यौपाने, कानून व्यवसायी यदुनाथ खनाल, शर्मिला गौतम, गोपालकृष्ण घिमिरे, कृष्णबहादुर थापा, सुनीलकुमार पोखरेल, खम्बबहादुर खाती, भरतप्रसाद खरेल, जगदीश घिमिरे, फणीन्द्रराज कोइराला लगायतले बोलेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
