काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पुनर्गठित मन्त्रिपरिषदमा दोलखाबाट तत्कालीन नेकपा एमालेबाट विजयी उम्मेदवार पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा नियुक्त गरेका छन् ।
मन्त्रिपरिषदमा महिला सहभागिता न्यून भयो भन्दै आवाज उठिरहेका बेला महिला मन्त्री नै पुरुषलाई दिनुले लज्जित तुल्याएको छ । यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहनु भएकी थममाया थापाले पनि अब बन्ने मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागी हुनुपर्ने बताउँदै आएकी थिईन् तर उनकै ठाउँमा पार्वत गुरङलाई ल्याइएको छ । सांसद गुरुङमाथि केही समयअघि ज्यान मार्ने अभियोग समेत लागेको थियो ।
विश्वध्वज खड्काले दायर गरेको जाहेरीको आधारमा दर्ता भएको ज्यान मार्ने उद्योगको मुद्दामा काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले तत्काल प्राप्त प्रमाणले गुरुङलाई थुनामा राख्न अनि धरौटी माग्न जरुरी नभएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
दोस्रो जनआन्दोलनपछि राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता हुने राज्यको नीति बने पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । २०७४ सालको चुनावमा संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधि निर्वाचित भएका छन् । तर त्यहीअनुसार मन्त्रिपरिषदमा सहभागिता भने गराइएको छैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
