मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा नेकपा, शीर्ष नेता आन्तरिक छलफलमा व्यस्त

काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठन अघि नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।

त्यसका लागि नेकपाका नेताहरुको बिहानैबाट दौडधूप चलेको छ। यसै क्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा झण्डै २ घण्टा भेटवार्ता भएको छ।

Advertisement

त्यस्तै सोमबारै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने ओली–प्रचण्ड भेटमा बहिर्गमनमा पर्न लागेका र थपिने मन्त्रीका बारेमा टुंगो लगाउने बुझिएको छ। त्यसअघि प्रधानमन्त्री केपी ओलीले सोमबार बिहान मन्त्रिमण्डल हेरफेरबारे आफू निकटस्थहरुसँग छलफल गरेका छन्।

आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल हेरफेर गर्न सैद्धान्तिक अनुमति दिएको थियो। त्यसपछि नेताहरुबीच सम्बाद र भेटवार्ता बाक्लिएको हो। खुमलटारमा प्रचण्डसँग नेता नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत भेटवार्ता गरेका थिए।

दुई नेतावीचको भेटवार्तामा समसामयिक राजनीतिक घट्नाक्रम र मन्त्रिमण्डलमा थपिने सदस्यहरुबारे छलफल भएको खुमलटार स्रोतले जनाएको छ। तर प्रचण्डको सचिवालयले भने टनेल र सुरुङमार्गबारे प्राविधिकहरुसँगको छलफलका लागि नेता नेपाल खुमलटार आएको दावी गरेको छ।

More News last news
Loading...