स्याङ्जा । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. २ बाट शेषकान्त पुरी लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
पुरीले १ हजार ११६ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । उनले दोश्रो लोकप्रिय मत प्राप्त गरेका हुन् । पहिलो लोकप्रिय मत भने भागवत प्रकाश मल्लले प्राप्त गरेका थिए ।
निर्वाचन परिणामसँगै स्याङ्जा काँग्रेसको क्षेत्र नं २ मा उनको राजनीतिक प्रभाव र युवामाझको लोकप्रियता थप चर्चामा आएको छ । चापाकोट नगरपालिका–५, साविक सेखाम गाविस–६ कान्तिमा जन्मिनुभएका पुरी पछिल्लो समय ‘एसके पुरी’ नामले समेत परिचित छन् । विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा जोडिएका उनी विशेषगरी युवापंक्तिमाझ लोकप्रिय नेताका रूपमा चिनिन्छन् ।
पुरीको राजनीतिक यात्रा भने विद्यार्थी अवस्थादेखि नै सुरु भएको हो । २०४९ सालमा बिरुवा गाउँपालिका, साविक चिन्नेवास गाविसस्थित जनप्रिय माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भएका थिए । त्यसयता कांग्रेसको राजनीति र संगठन निर्माणमा निरन्तर सक्रिय रहँदै आएका छन् ।
लामो समयदेखि पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका पुरीले यसपटक क्षेत्रीय प्रतिनिधिहरूबाट प्राप्त गरेको मतलाई आफ्नो राजनीतिक यात्राप्रतिको विश्वासका रूपमा लिएका छन् ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै अब पुरीको भूमिका पार्टीको महाधिवेशनमा मात्र सीमित रहने छैन। स्याङ्जा क्षेत्र नं. २ बाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने क्रममा उनले जिल्लाको संगठन, युवा पुस्ताका मुद्दा र पार्टीभित्रको पुस्तान्तरणको बहसमा कस्तो भूमिका निर्वाह गर्छन् भन्ने चासो पनि बढेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
