हरियो नुवाकोट अभियान अन्तर्गत एक बर्षमा ४१ हजार वढी विरुवा वितरण

नुवाकोट, असार २७ । नुवाकोटलाई हराभरा, वातावरणमैत्री तथा व्यावसायिक फलफूल उत्पादनको केन्द्र बनाउने उद्देश्यसहित शुरु गरिएको हरियो नुवाकोट अभियान अन्तर्गत यस आ.ब.मा ४१,०७० वटा सुन्तला तथा कागतीका बिरुवा वितरण गरिएको छ।

वरिष्ठ पर्यटन व्यवसायी सुमनविक्रम पाण्डेले सञ्चालन गर्दै यस अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहका कृषकहरूलाई कुल ४१,०७० वटा सुन्तला तथा कागतीका बिरुवा वितरण गरिएको हो । अभियानमार्फत ३३,९८४ वटा सुन्तला तथा ७,०८६ वटा कागतीका बिरुवा मेघाङ, किस्पाङ, तारकेश्वर, विदुर, बेलकोटगढी, लिखु, सूर्यगढी, ककनी, दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी लगायतका स्थानीय तहका कृषकहरूलाई वितरण गरिएको हो।

Advertisement

हरियो नुवाकोट अभियानले बिरुवा वितरणलाई मात्र प्राथमिकता नदिई व्यावसायिक फलफूल खेतीको विकास, कृषकको आयआर्जन वृद्धि, बाँझो जमिनको सदुपयोग, वातावरण संरक्षण तथा नुवाकोटलाई फलफूल उत्पादनको नमुना जिल्ला बनाउने दीर्घकालीन लक्ष्यका साथ काम गर्दै आएको छ। बिरुवा वितरणसँगै कृषकहरूलाई उचित रोपाइँ, बगैँचा व्यवस्थापन तथा बिरुवाको संरक्षणसम्बन्धी प्राविधिक परामर्श पनि प्रदान गरिएको थियो।

३८ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय पाण्डेले आफ्नो गृह जिल्ला नुवाकोटलाई फलफूल उत्पादनको प्रमुख केन्द्र बनाउने दीर्घकालीन सोचका साथ विगत दुई वर्षदेखि १२ वटै स्थानीय तहमा कागती र सुन्तलाका बिरुवा वितरण अभियानलाई तीव्रता दिएका हुन् । पाण्डेका अनुसार ‘हरियो नुवाकोट अभियान’ केवल वृक्षारोपण कार्यक्रम होइन, यो वातावरण संरक्षण र आर्थिक समृद्धिलाई जोड्ने दीर्घकालीन अभियान हो ।

अभियानले भू–क्षय नियन्त्रण, जलस्रोत संरक्षण, कृषि उत्पादन वृद्धि, ग्रामीण रोजगारी सिर्जना तथा किसानको आयस्तर उकास्ने लक्ष्य राखेको छ ।

More News last news
Loading...