मतदातालाई काठमाडौं-१ का उम्मेद्वार थापाकाे पत्र 

काठमाडौ । नेपाली काँग्रेसकाे तर्फबाट काठमाडौ क्षेत्र नं १ का उम्मेदवार प्रबल थापाले मतदाताहरूलाई पत्र लेखेका छन् ।

फागुन २१ गते हुने निर्वाचनकाे माैन समय शुरू हुनुभन्दा केही समय अगाडि मात्र मत माग्दै मतदाता समक्ष यस्ताे पत्र लेखेका हुन् ।

Advertisement

उनले यस क्षेत्रको सुख–दुःख, समस्या र संभावनासँग म बाल्यकालदेखि नै परिचित भएकाे भन्दै यहाँको बाटो, पानी, शिक्षा, स्वास्थ्य, सवारी जाम, फोहोर व्यवस्थापन, रोजगारी र विकासका मुद्दा मेरा लागि केवल चुनावी एजेन्डा नभइ आफ्नै घर–आँगनका आवश्यकताहरू ठानेकाे बताएका छन् ।

साथै ती चुनौतीहरूलाई अन्त्य गर्न अब हाम्रो नेतृत्व पनि यही माटोको पीडा बुझेको, यहाँको संस्कार र भावना आत्मसात गरेको र हामी बीच नै हुर्किएको व्यक्ति हुनुपर्छ भन्ने अाफ्नाे दृढ विश्वास रहेकाे समेत उल्लेख गरेका छन् ।

यस्ताे छ उनले लेखेकाे पत्र : 

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी, अनि प्रिय युवा साथीहरू
नमस्कार एवं जय नेपालको अभिवादन !

आज भन्दा ४२ वर्ष अघि थापागाउँको धर्ती टेकेको शिशु, आज हजुरहरू माझ प्रतिनिधिसभा सदस्य (सांसद) बन्ने दृढ संकल्प लिएर उभिएको छ । ‘कप्तान बाजेको नाति’ को चिनारीले आज फेरि एउटा जनसेवकको परिचय खोज्दैछ। यस क्षेत्रको जनप्रतिनिधि बन्न चुनावमा उठेको छ । चुनाव प्रसार-प्रचारको सिलसिलामा हजुरहरूको घरदैलोसम्म पुगेर भेट्न पाएता पनि आफ्नो कुरा सबै व्यक्त गर्न भने समयले दिएन। त्यसैले यो पत्रमार्फत आफ्नो मनको कुरा राख्दैछु।

मेरो बाल्यकालको बानेश्वर, मैतिदेवी, त्रिपुरेश्वर, भीमसेनगोला, शान्तिनगर, सिंहदरबार , माइतीघर, बबरमहल, अनामनगर, घट्टेकुला, डिल्लीबजारलगायतका ठाउँहरुमा आज समयसगैँ बदलाव आएको छ। धानफल्ने खेतहरु व्यवसायिक केन्द्रका रूपमा विकसित हुँदैछन् । राष्ट्रकै मुटु मानिने यस क्षेत्रको आफ्नै महत्व छ। यस क्षेत्रमा बसोबास गर्ने हामीले विभिन्न क्षेत्रमार्फत राष्ट्रनिर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छौँ। घना आवादी बीच पनि व्यस्त व्यवसायिक जीवनशैलीले हाम्रो सम्पर्क एवं संवादलाई केही टाढा बनाएको छ। हिजो साँझबिहान संगै खेलेका साथीहरूसंग समय तोकेर भेट्नुपर्ने भएको छ । तर पनि, मैले त्यो धोबीखोलामाथि हिडेको काठको पुल, लाखेचौरको खेलमैदान, बागमतीसंगैका हरिया फाँट र ती आनन्ददायी पलहरु बिर्सेको छैन ।

उच्चशिक्षा र रोजगारीका लागि बाहिरिनु पर्ने आजको बाध्यता मैले प्रत्यक्ष अनुभव गरेको छु। परदेशको बसाइ बारे मलाई राम्रो संग थाहा छ। त्यहाँको सुविधायुक्त जीवनले मलाई लालयित नबनाएको त हैन तर, हाम्रो देशलाई पनि त्यस्तै बनाउन सकिन्छ भन्ने हुटहुटीले म अध्ययनको समाप्तीसंगै स्वदेश फर्किएँ। यो हुटहुटी उस्तै छ। यो मेरो मात्र कुरा हैन, हामी सबै र हरेक पुस्ताको आकांक्षा हो। नेपाल फर्केपछि समाजिक कार्यमार्फत म सक्रियरुपमा हजुरहरूसंगै रहेँ। सम्बत: २०७२ को महाभुकम्प, २०७८ को कोभिड-१९ महाव्याधी, समयको आवश्यकता वमोजिम स्वयंसेवकको भूमिकामा थिएँ।

गत भदौ २३ र २४ गते नेपालका निम्ति अत्यन्तै अकल्पनीय परिघटना रह्यो। सुशासनको माग राख्दै प्रतिरोधमा उत्रेका युवाजमातको प्रदर्शनले एकाएक आन्दोलनको स्वरुप लिदा राष्ट्रले ठुलो मानवीय र भौतिक क्षति व्योहर्नुपर्यो। युवा आकांक्षालाई हृदयंगम गर्दै जिम्मेवार पार्टीको रुपमा नेपाली काँग्रेस आत्मसमीक्षा र आत्मालोचनासहित रुपान्तरित भएर आएको छ। विगतका थुप्रै ऐतिहासिक उपलव्धिहरूप्रति गर्व गर्दै र समस्त कमिकमजोरीको अनुभवबाट पाठ सिक्दै हामी देश बनाउने र देशवासीको अवस्था बदल्ने प्रतिज्ञासहित जनअनुमोदनका लागि उपस्थित भएकाछौँ ।

हाम्रो क्षेत्रको सुख–दुःख, समस्या र संभावनासँग म बाल्यकालदेखि नै परिचित छु। यहाँको बाटो, पानी, शिक्षा, स्वास्थ्य, सवारी जाम, फोहोर व्यवस्थापन, रोजगारी र विकासका मुद्दा मेरा लागि केवल चुनावी एजेन्डा होइनन्, यी त मेरो आफ्नै घर–आँगनका आवश्यकताहरू हुन्। यी चुनौतीहरूलाई अन्त्य गर्न अब हाम्रो नेतृत्व पनि यही माटोको पीडा बुझेको, यहाँको संस्कार र भावना आत्मसात गरेको र हामी बीच नै हुर्किएको व्यक्ति हुनुपर्छ भन्ने मेरो दृढ विश्वास छ।

म हजुरहरूसमक्ष कुनै ठूला–ठूला वाचा गरिरहेको छैन। हाम्रो साझा समस्या र संभावनाको कुरा मात्र मेरो प्रतिबद्धतापत्रमार्फत गरेको छु। यहाँ उल्लेखित हरेक बुँदा इमान्दारिताकासाथ सम्पन्न गर्न हर सम्भव प्रयास गर्ने प्रण गर्द्छु। ममाथि भरोसा राख्दै फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गरी मलाई सेवा गर्ने अवसर र राष्ट्रनिर्माणको मेरो पहिलो पाइलालाई साथ दिनुहुन सविनय अनुरोध गर्दछु।
जय नेपाल!

हजुरको,

प्रवल थापा

More News last news
Loading...