काठमाडौं । ‘नागार्जुन विशिष्ट व्यक्तित्व’ सम्मानद्वारा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सम्मानित भएका छन् । दोस्रो कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरिरहेका ग्याल्जेन राजनीति मार्फत् समाज सेवा गरिरहेका छन् । नागार्जुन वाङ्मय प्रतिष्ठानले गैर–साहित्यकारलाई अर्पण गरेको यस्तो प्रकृतिको सम्मान पहिलोपटक भएको प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले जानकारी दिए ।
सिफारिस उपसमितिले गरेका तीन जना व्यक्तित्वहरूमध्येबाट समितिको बैठकबाट सर्वसम्मत शेर्पालाई चयन गरिएको उनले अवगत गराए । पौडेलले यसखाले सम्मान अब नागार्जुनले नियमित रूपमा गर्ने पनि बताए । कमसल मान्छेहरूबिच असल मान्छेहरू पनि भएकाले तिनलाई प्रोत्साहित गर्न नागार्जुन किमार्थ नचुक्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
सम्मान ग्रहणपछि आफ्नो अभिव्यक्ति राख्ने सिलसिलामा सम्मानित अध्यक्ष शेर्पाले निर्धन मान्छेहरूले औषधोपचारको बिल तिर्न नसक्ने भन्दै त्यतिखेर राज्य कहाँनेर उपस्थित छ भन्ने प्रश्न तेर्स्याउँदै त्यसैका निम्ति आफूले दीर्घ रोगीलाई निःशुल्क औषधोपचार व्यवस्था गरेको जिकिर गरे । उपस्थित साहित्यकार तथा साहित्यानुरागीहरूलाई लक्षित गर्दै यो बेथितिको केही न केही अंश साहित्यकारहरू पनि भएको उनको तर्क थियो।
अरू बेला जतिसुकै आदर्शका कुरा गरे पनि चुनाव आउनासाथ आफ्नो विचारधारा भएको दललाई लुसुक्क भोट हाली जस्तोसुकै उम्मेदवार भए पनि जिताउने गरेको उनको कथन थियो । यसर्थ राष्ट्र बिगार्ने खेलमा जान/अन्जान सबैभन्दा बढी शिक्षित र धनी वर्ग लागेको उनको नम्र आरोप थियो ।
उनले आफूले एकल पुरुषलाई मासिक वृत्तिको व्यवस्था गरेको र संस्कृत तथा सम्भोटा भाषाको प्रवर्धनमा दिलो ज्यान दिएको भन्दै अन्यथा कुनै बेला तिब्बतबाट लामागुरु र जर्मनीबाट पण्डित झिकाउनु पर्ने अवस्था नआउला भन्ने निश्चित नभएको दलिल पेस गरे । प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममको सहजीकरण महासचिव युवराज नास्तिकले गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
