बाढी पहिरो : नारायणगढ-मुग्लिन सडकमा दुई बस बगायो, पोखरामा १० जनाको मृत्यु
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् ।
उहाँकाअनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । प्रजिअ यादवकाअनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । उहाँले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
यसैबीच, मुग्लिन–नारायणगढ सडकखण्डकै १७ किलोमा अर्को बसमा पहिरोबाट झरेको ढुङ्गाले लागेर चालकको ज्यान गएको छ । बुटवलबाट काठमाण्डौको लागि छुटेको लु २ ख ६५६६ नम्बरको बसमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा ज्यान गएको छ ।
पोखरामा १० जनाको मृत्यु
पोखराको दुई ठाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका ७ सहित १० जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा गएराति पहिरोले घर पुरिएपछि ४७ वर्षीय कुलबहादुर परियार, उहाँकी श्रीमती ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा छिमेकी राधिका परियारको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।
यसैगरी पोखरा–३२ चैनपुरमा पनि पहिरोले घर पुरिँदा १८ वर्षीया अनिता ओझा, ९ वर्षीय प्रतिक सुवेदी र ११ वर्षीया अनुस्का ओझाको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै कास्कीको मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ बेपत्ता हुनुभएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
