युवालाई आयआर्जनसँग जोड्दै इच्छाकामना, २० युवालाई केश कर्तन तालिम

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकामा निःशुल्क केश कर्तन तालिम सञ्चालन भएको छ । युवालाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले केश कर्तन तालिम सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले युवालाई आयआर्जनसँग जोड्दै, स्वरोजगारका अवसर सिर्जना गरी आत्मनिर्भर बनाउन गत बिहीबारदखि निःशुल्क केश कर्तन तालिम सुरु गरिएको जानकारी दिए ।

‘युवालाई सीपसँगै स्वरोजगार बनाएर आयआर्जनसँग जोड्न तालिम सुरु गरेका छौँ । हातमा सीप भएपछि बेरोजगार बस्नु पर्दैन’, उनले भने, ‘आगामी दिनमा अन्य विधिमा पनि तालिम सञ्चालन गर्ने योजना बनाएका छौँ ।’

Advertisement

अध्यक्ष गुरुङले पालिकाको माथिल्लो भेगको वडाका बासिन्दा केश कर्तन गर्नका लागि कुरिनटार मुग्लिनलगायत बजारमा आउनुपर्ने बाध्यता रहेकामा तालिमपछि स्थानीयस्तरमा नै केश कर्तन हुने बताए । सीप भएपछि गाउँमै सैलुन खोलेर युवा स्वरोजगार बन्न सक्नेमा उनले जोड दिए।

अध्यक्ष गुरुङले भने, ‘विशेष गरेर माथिल्लो भेगका स्थानीय केश कर्तनका लागि बजार आउनुपर्ने बाध्यता थियो । अब गाउँमै सैलुन खोलेपछि सहजता हुनुका साथै स्वरोजगार पनि बन्न सकिन्छ ।’

तालिममा सातवटै वडाका २० जना युवाको सहभागी रहेको अध्यक्ष गुरुङले जानकारी दिए । बिहीबारदेखि सुरु भएको तालिम आगामी असार ९ गतेसम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

More News last news
Loading...