काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ। गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आव्हान गरिएको थियो।
महानगरपालिकाका अनुसार यस सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो। आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको हो। यसरी कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार पदका लागि छन्। यस्तै १०५ जना शाखा अधिकृत पदका लागि छन्। आज कार्यक्रम थालनी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै बौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताए।
‘युवाहरूको बौद्धिक क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने नेतृत्वको नीति कार्यान्वयन तहमा आएको छ,’ उनले भने, ‘महानगरवासीहरूमा राष्ट्रसेवक कर्मचारी बन्ने अभिलाषा वृद्धि गराउन, लोक सेवाबाट लिइने परीक्षामा सफल हुने वातावरण बनाउन लोक सेवा तयारीको कक्षा गरिएको हो।’
नेपाल सरकारका पूर्व सचिव एवं कक्षाका स्रोत व्यक्ति गोपीनाथ मैनालीले, वौद्धिक क्षमता र सिर्जनात्मक लेखन सीप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने धारणा राखे। तालिम आउँदो भाद्र महिनासम्म चल्नेछ। तालिममा महानगरपालिकाको स्थायी बासिन्दा, महिलाको हकमा ४० वर्ष र पुरुषका हकमा ३५ वर्ष उमेर पूरा नभएकालाई कक्षामा सहभागी गराइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
