काठमाडौैं । आज (मंगलबार)देखि हुने कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । थानीको दुई दिने नेपाल भ्रमणको सुरक्षा सेनाका रथी अशोक सिग्देलको कमान्डमा विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७५ मा व्यवस्था भएबमोजिम अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गर्न लागिएको हो ।
सिग्देल नेपाली सेनाका प्रधानसेनापतिपछिका सर्वोच्च अधिकारी हुन्। सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले कतारी राजाको सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने बताए । उनका अनुसार विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ ।
बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ । कतारका राजा अमिर शेखको सडकमा सवारीका बेला सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट राइडर्स र जगेडा कार समेत रहने छ।
आपतकालीन अवस्थाका लागि एम्बुलेन्स, प्रहरी जीप, पछुवा कार पनि उनको सवारीका बेला साथमै रहनेछन् । सेनाका स्नाइपरदेखि बम डिस्पोजल टोली पनि तैनाथ रहनेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
