२०८१ सालमा जुर्नेभयो दुर्लभ संयोग, एकै वर्ष मनाइनेछ तीन दशैं ! कहिले-कहिले ?

काठमाडौँ । विक्रम संवत २०८१ सालमा दुर्लभ संयोग जुर्ने भएको छ। आगामी वर्ष २०८१ सालमा दुई चैते दशैँ सहित तीन दशैँ पर्ने भएका कारण दुर्लभ संयोग जुर्ने भएको हो। चैत्र शुक्ल पक्षमा पर्ने दुईवटा चैते दशैँ समेत गरी २०८१ सालमा तीन दशैँ मनाइने भएको छ। २०८० सालमा मलमास परेका कारण चैत शुक्ल अष्टमिका दिन मनाइने चैते दशैँ २०८१ सालको वैशाख ४ गते परेको छ।

यसैगरी वि.सं. २०८१ को चैत २३ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ। बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज १७ गते बिहीबार घटस्थापनाबाट सुरु हुनेछ।

Advertisement

२०८१ सालको असोज २४ गते फूलपाती परेको छ भने महाअष्टमी र महानवमी एकै दिन असोज २५ गते परेको छ। असोज २६ गते शनिबारका दिन विजयादशमी पर्व मनाइनेछ।

त्यस्तै कोजाग्रत पूर्णिमा कार्तिक एक गते मनाइएसंगै बडादशैँ समापन हुनेछ। कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने नेपालीहरुको अर्को महान चाड कार्तिक १३ गते सुरु हुनेछ। लक्ष्मी पूजा कार्तिक १५ गते परेको छ।

त्यस्तै, कार्तिक १६ गते गाई तिहार परेको छ भने कार्तिक १७ गते गोवर्धन पूजा मनाइनेछ। भाइटिका कार्तिक शुक्ल द्वितीया तिथि अर्थात् कार्तिक १८ गते मनाइनेछ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैँलाई नेपालीले महत्वका साथ मनाउने गरेको धर्मशास्त्रविद्हरु बताउँछन् ।

वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष वि.सं. २०८० सालमा मलमास (अधिकमास) परेकाले वि.सं. २०८१ मा तीन वटा दशैँ परेको बताइएको छ ।

More News last news
Loading...