काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको एक समूहले केन्द्रीय तदर्थ कार्यसमितिमा थप ४१ सदस्य मनोनयन गरेको गम्भीर आपत्ती जनाएको छ । महामन्त्री गगन थापा समूहका नेबिसंघ केन्द्रीस समेत रहेका सुबास पौडेलको नेतृत्वमा करिब १ सय ५० जना सदस्यहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आपत्ती जनाएको हो ।
कुनै राजनीतिक परामर्श र समन्वय बिना नै अप्रत्याशित रुपमा ४१ सदस्य नियुक्त गर्दै गर्दा समेत सम्पूर्ण अनशनरत साथीहरू र पहिलो सुची प्रकाशन गर्ने क्रममा नसमेटिएका साथीहरूलाई पुनः नसमेट्नुले पार्टी र नेविसंघ नेतृत्वले बारम्बार राजनीतिक बेइमानी गरेर नेविसंघका इमान्दार साथीहरूलाई नियतवश अन्याय गरेको भन्दै सभापतिको ध्यानाकर्षण गराएको केन्द्रीय सदसय पौडेलले बताए ।
‘यस प्रकारका बेइमानी र अन्यायका शृङ्खलाले नेविसंघ अध्यक्ष प्रति विश्वास गर्ने कुनै आधार बाँकी रहेन। यसले सङ्गठनमा वितृष्णा र विद्रोहको माहोल सिर्जना हुने अवस्था बनेको छ। न्याय गर्ने नाममा फेरि अन्याय र बेइमानीको क्रमबद्ध शृंखला किन ? भन्दै उनीहरुले सभापति समक्ष प्रश्न राखेका छन् ।
यस्तै काठमाडौँ लगायत ८ वटा जिल्लाहरुमा नेतृत्व चयन गर्दै गर्दा नेविसंघ अध्यक्षले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्देशन उल्लङ्घन गरि राजनीतिक बेइमानी गरेको र थप ९ जिल्लाहरुमा मैदानमा समस्या देखिएकोले उक्त जिल्लाहरुको विवाद कार्यसम्पादन समितिको म्यान्डेट अनुसार सच्याउनको लागि नेविसंघ अध्यक्षलाई ध्यानाकर्षण आदेश गर्न समेत आफूहरुले आग्रह गरेको पौडेलले नयाँपुस्तालाई बताए । राजनीतिक सहमति विपरीत गत चैत ३ गते नेबिसंघ केन्द्रीय समितिमा ४१ जना सदस्यको मनोनयन भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
