चीनले राख्याे ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य, सैन्य बजेट बढायाे

एजेन्सी । चीनले यस वर्ष आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ। चिनियाँ संसद् नेशनल पिपल्स कंग्रेस (एनपीसी) को अधिवेशनमा प्रधानमन्त्री ली छ्याङले यस वर्ष पाँच प्रतिशत आर्थिक वृद्धि हुने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ।

उहाँले देशको अर्थतन्त्रमा केही अप्ठ्यारा देखिए पनि त्यसलाई सुधार गर्दै लक्ष्य हासिल गर्न सकिने बताउनुभएको छ।संरचनात्मक सुधार, गुणस्तरमा वृद्धि र प्रदर्शनमा सुधार गर्दै देशले पाँच प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भेट्ने प्रधानमन्त्री ली छ्याङको भनाइ छ।

Advertisement

गएको वर्ष पनि चीनको आर्थिक वृद्धि पाँच दशमलव दुई प्रतिशत थियो। तर यस वर्ष घरजग्गा कारोबारमा देखिएको सङ्कट, मूल्यवृद्धिकाे दबाब र पुँजी पलायनका चुनौतीका कारण आर्थिक वृद्धिदर घट्ने अनुमानका बीच अर्थतन्त्रप्रति विश्वास जगाउन प्रयास भइरहेको प्रधानमन्त्री ली छ्याङको भनाइलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

चीनले रक्षा र विज्ञान प्रविधिमा लगानी बढाउने घोषणा गरेको छ। सन् २०२४ का लागि रक्षा मामिलामा सात दशमलव दुई प्रतिशतले बजेट बढाउने घोषणा संसदमा गरिएको छ। यस घोषणाअनुसार चीनले अब रक्षा क्षेत्रमा दुई सय ३० अर्ब ६० करोड डलर खर्च गर्नेछ।

यस्तै विज्ञान र प्रविधि क्षेत्रमा १० प्रतिशतले बजेट बढाउने घोषणा गरिएको छ। विज्ञान प्रविधि क्षेत्रमा यस पटक चीनले ५१ अर्ब ६० करोड डलर खर्च गर्न लागेको छ। अमेरिकाले विज्ञान प्रविधिको क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाएसँगै चीनले आत्मनिर्भर हुनका लागि बजेट बढाएको हो।

More News last news
Loading...