१९ बर्षमै माओवादी युद्धमा लुटियो अम्बिकाको खूशी, २५ बर्षपछि गरिन् दोस्रो बिबाह

चितवन । चितवन स्थायी घर भएकी साहित्यकार अम्बिका पोखरेल कार्की अमुले पति वियोगको २५ वर्षपछि दोस्रो बिबाह गरेकी छिन।माओवादीको आक्रमणमा नेपाल प्रहरीमा कार्यरत रहेका पति ओम कार्कीको २५ वर्षअघि मृत्यु भएपछि अम्बिका एकल महिलाको रूपमा आफ्नो सन्तानको जिम्मेवारी पूरा गर्ने अभियानमा लागेकी थिइन ।

उनले आफ्नो छोरीलाई उच्च शिक्षा दिएर बिबाह गरेपछि आफूले थप जिम्मेवारी लिने निर्णयसहित बिबाह गरेकी हुन । शुक्रबार बिबाह बन्धनमा बाँधिएकी अम्बिकाले आजबाट जिन्दगी नयाँ बाटोमा हिडेँको सार्वजिनक रूपमै जानकारी दिएकी छिन ।

Advertisement

उनले परिवारका सदस्यहरूको सहमति र उपस्थितिमा बुटवल मंगलापूर निवासी पत्नी वियोगको पीडा खेपिरहेका भएका तीन छोरीका पिता ज्ञवालीसँग बिबाह गरेकी हुन । उनले ज्ञवालीको नाम भने खुलाएकी छैनन् । उनले सामाज परिवार्तनको नारा फुकेर मात्र परिवर्तन नहुने भन्दै परिवर्तनको सुरूवात आफैँबाट गर्नुपर्ने बताएकी छिन ।

अम्बिकाको निर्णय निकै चुनौतिपूर्ण रहेको भए पनि सामाजिक सन्देशका हिसाबले निकै महत्वपूर्ण रहेको छ । अम्बिकाको निर्णयले खुशी भएकाहरूले उनको फेसबुक पोस्ट सेयर गर्दै सफल दामपत्य जीवनका लागि बधाई दिएका छन ।उनले छोरीको बिबाह भएपछि आफूले एक्लो महशुष गरेकाले सबैको सल्लाहले यस्तो निर्णय गरेको जानकारी दिएकी छिन ।

अम्बिकाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छिन, आजबाट यो जिन्दगी नयाँ बाटोमा हिड्यो। मैले दोस्रो बिवाहा गरेँ । जिन्दगी सोचेजस्तो नहुने रहेछ ।१६ बर्सको उमेरमा मैले पहिलो बिवाहा गरेकी थिएँ। २० बर्ष पूरा हुँदै गर्दा म विधवा भएँ। नेपाल प्रहरीमा कार्यारत ओम जिलाई देशको द्वन्द्वले लग्यो । यसरी प्रेम वियोगमा मैले २५ बर्ष गुजारेँ ।

यो दौरानमा आर्थिक, सामाजिक, राजनितिक उतारचढावहरू मेरो जीवनमा आए । व्यवस्था परिवर्तनको नाममा मच्चिएको उत्पातले म जस्ता कैयौं दिदीबहिनीहरूले वियोगमा जिन्दगी जिउनु परेको सत्यताहरू हाम्रो आँखा अगाडी छन् । सन्तानको लागि मैले जानी नजानी ,सकि नसकी आफ्नो कर्तव्य पूरा गर्न लागि परेँ र उचित शिक्षा दिएर कुटुम्बको जिम्मा लगाएँ।

त्यसपछि म विल्कुल एक्लो भएँ अबको यो उमेरमा झन् कसैको साथको आवस्यकता खड्किन थाल्यो । मनले साथीको आवस्यकता महसुस गरेकै बेला परिवारिक थ्रो बाट ज्ञवाली जिको कुरा मसम्म आयो । मैले जवाफ दिन सकिन र निर्णय गर्ने पूरा अधिकार छोरी ज्वाइँलाई दिएँ । मेरो पहिलो घर, माइती, मावली र इष्टमित्र समक्ष यो कुरा राखेर सबैको सर्वसहमतिमा र उपस्थितिमा बुटवल, मंगलापूर निवासी पत्नी वियोगको पीडा खेपिरहनु भएका तीन छोरीका पिता ज्ञवालीजिलाई अबको बाँकी जिन्दगी सुम्पने निर्णय गरेँ ।

अब हामी चार वटी छोरीको माता पिता भएका छौं । हिजो पनि म मेरो कर्तव्यबाट विमुख भइन अब भोलीपनि कर्तव्यवोध गर्नेनैछु । अब हाम्रो चाहना हामी दुबैले गुमाएका हाम्रा आफ्ना मान्छे (ओमजि र कृष्णा दिदी) को स्मरण गर्दै चार सन्तानको कुशल माता पिता बनेर हाँसी खुशी बाँकीको जिन्दगी बिताउनु हो। समाज परिवर्तनको नारा फुकेर मात्र समाज परिवर्तन हुँदैन सुरुवात हामी आफैले गर्ने हो । (हजुरहरू सबैलाई यो मेरो निर्णय चित्त नबुझ्न सक्छ कृपया केही लेख्नु अघि आफ्नो श्रीमती, आमा, दिदीबहिनी, भाउजू, बुहारीलाई मेरो ठाउँमा राखेर दुई सेकेन्ड सोचेर मात्र लेखिदिनू होला हवस् त धन्यवाद ।)

More News last news
Loading...