दोलखा । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको दोलखाको कालिञ्चोक भगवतीको दर्शन गर्नेहरू तीन साताको अवधिमा झन्डै ३५ हजारभन्दा बढी पुगेका छन् । घटस्थापनादेखि तिहारको भाइटीकासम्ममा ३४ हजार ७२९ श्रद्धालु भक्तजनले भगवतीको दर्शन गरेका बताइएको छ ।
कालिञ्चोक दर्शन लिमिटेडका सन्देश सिवाकोटीका अनुसार घटस्थापनादेखि तिहारको भाइटीकासम्ममा १९ हजार ७८६ ले केबुलकार चढेका छन् । केबुलकारमा पालो नपाएपछि आधाभन्दा बढी हिँडेरै कालिञ्चोक भगवतीको दर्शन गर्न पुगेका थिए ।
कुरीका होटल सुनापातीका व्यवसायी हरि ओलीले भन्नुभयो, “केबुलकार चढ्न नपाएपछि १४ हजार ९४३ जनाले पैदल यात्रा गरी कालिञ्चोक भगवतीको दर्शन गरे ।” करिब डेढ घण्टा पैदल हिँडेपछि भगवतीको दर्शन गर्न सकिन्छ । समुद्री सतहदेखि तीन हजार ८४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक भगवतीबारे केही किंवदन्ती प्रचलित छ ।
परापूर्व कालमा कुतीबाट खासा हुँदै भेडा ल्याउँदा कालिञ्चोकबाटै ल्याउनु पथ्र्याे । यहाँ आइपुग्दा सातवटा भेडा हराएका थिए । त्यसपछि गोठालाले कामेर बक्दै अबिर, केशरी र भेटी चढाएपछि भेडा हराउन छाडेको जनविश्वास छ । त्यसपछि कालिञ्चोक भगवतीलाई मान्ने व्रम सुरु भएको स्थानीय मकरध्वज तामाङले बताउनुभयो ।
स्कन्दपुराणमा कामाचल गिरि हिमवत् खण्डमा हिमालय पर्वत र कालीपुराणमा कलिञ्जर भन्ने उल्लेख भएको ठाउँ नै कालिञ्चोक रहेको यससँग सम्बन्धित जानकारहरू बताउँछन् । उनीहरूका अनुसार तीन हजार वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिञ्चोक हो । यहाँ जनैपूर्णिमा, कृष्णाष्टमीसमेतमा विशेष मेला लाग्ने गर्छ ।
मेलामा धाँमीझाँक्रीको ठुलो भिड हुने गर्छ भने अन्य भक्तजन पनि छोराछोरी, धनसम्पत्ति, विद्या प्राप्तिका लागि वरदान माग्न आउने गरेका स्थानीयवासी बताउँछन् । यहाँ कुनै भगवतीको मूर्ति देख्न पाइँदैन । बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ । भक्तजनले त्यसैलाई कालिञ्चोक भगवती मानी पुज्ने गर्छन् ।
कालिञ्चोके भगवतीको दर्शनका लागि चरीकोट–कुरी १८ किलोमिटर कच्ची सडक निर्माण भएको छ । कुरीमा सैयौँ होटल र लज बनेका छन् । कुरीबाट मन्दिरसम्म पुग्न केबुलकारको पनि व्यवस्था भएको छ । महत्त्वपूर्ण र सुरक्षित, धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न स्थानीय सरकार जुर्मुराउन लागेको छ । कालिञ्चोकमा केबुलकार निमार्णसँगै यो क्षेत्रमा आउनेका सङ्ख्यामा वृद्धि भएको छ । आन्तरिक र बाह्य पर्यटकको चाप बढेसँगै यहाँका होटलमा लगानी थपिँदै गएको छ । गोरखापत्रबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
