सुरुङमार्ग ‘ब्रेक थ्रु’, विष्फोटनसँगै यातायातमा नयाँ युगको सुरुआत

काठमाडौं । नागढुङ्गा सुरुङ निर्माण आयोजनाअन्तर्गत आपत्कालीन उद्धार सुरुङ (रेस्क्यु टनेल)को सोमबार ‘ब्रेक थ्रु’ भएको छ । उक्त सुरुङमार्ग वारपार छिचोलिएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताइएको छ । नेपालको यातायात क्षेत्रको पहिलो आधुनिक सुरुङमार्ग निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको हो ।

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गअन्तर्गत उक्त सुरुङको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकाले दुवै देशको संस्कृतिअनुसार पूजा गरेर ‘ब्रेक थ्रु’ गेका हुन । सो अवसरमा भौतिक राज्यमन्त्री नन्दा चापागाइँ, सडक विभागका महानिर्देशक सुशीलकुमार ढकाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सञ्चारकर्मी, सो क्षेत्रका स्थानीय तहका प्रमुखलगायत सुरुङभित्रै सहभागी थिए ।

Advertisement

मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आपत्कालीन सुरुङ भने छिचोलिएको हो । आपत्कालीन उद्धार सुरुङको सफल ‘ब्रेक थ्रु’ उत्सवका अवसरमा मन्त्री ज्वालाले यो शुभारम्भ ऐतिहासिक र गौरवपूर्ण दिन भएको बताए । उनले केही समयपछि मुख्य सुरुङको पनि ‘ब्रेक थ्रु’ हुने र एक वर्षमा सुरुङमार्गमा यातायातका साधन सुचारु हुने विश्वास दिलाए ।

हाम्रै पालामा यातायात सुरुङमार्गमा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री ज्वालाले नियमित अनुगमन गरेर निर्धारित समयमा सो मार्ग सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्माणका क्रममा केही समस्या भए सरोकारवालासँग बसेर हल गर्न आफू तत्पर रहेको उनले विश्वास दिलाए । साथै मन्त्री ज्वालाले आयोजनामा आर्थिक सहयोग गर्ने जापान सरकार र जाइकालाई धन्यवाद दिँदैै नेपालको पूर्वाधार क्षेत्रको विकासमा आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

सो अवसरमा राजदूत किकुताले सुरुङमार्गको ‘ब्रेक थ्रु’मा भएको विष्फोटनको आवाजले नेपालमा नयाँ युगको आरम्भको सङ्केत गरेको बताउँदै आफू यसको प्रत्यक्षदर्शी हुन पाउनु गौरवको विषय हो भने । उनले यस्तो चुनौतीपूर्ण निर्माण परियोजनामा संलग्न सबैप्रति सम्मान व्यक्त गर्दै सबैको एक एक योगदानले आजको सफलता सम्भव भएको उल्लेख गरे ।

आयोजनाको निर्माण सम्पूर्ण कार्य सम्पन्न हुन केही समय लाग्ने र त्यसदिनको प्रतीक्षारत रहेको उल्लेख गर्दै उनले नेपालमा आजको यो दिन अविष्मरणीय रहने बताए ।

यो आयोजनाको सुरुआत धादिङको धुनीवेशी नगरपालिकाबाट भई काठमाडौँको चन्द्रागिरि नगरपालिकामा अन्त्य हुनेछ । आयोजनाको दोस्रो पटक म्याद थपपश्चात अप्रिल २०२४ मा सम्पन्न गर्ने समयावधि रहेको छ । आयोजनाको कुल लागत रु २० अर्ब ६० करोड मध्ये जाइकाले रु १५ अर्ब ८० करोड सहुलियत ऋणमार्फत उपलब्ध गराउने छ भने बाँकी रु चार अर्ब ८० करोड नेपाल सरकारले व्यहोर्ने प्रावधान रहेको छ ।

साढे दुई किलोमिटर लम्बाइ र साढे चार मिटर चौडाइको आपत्कालीन सुरुङमा सातवटा क्रस प्यासेज राखिएको छ । सुरुङभित्र कुनै दुर्घटना हुँदा वा अन्य कारणले मुख्य सुरुङ अवरुद्ध हुँदा प्रयोगमा ल्याउन मुख्य सुरुङसँगै निर्माण गरिएको आकस्मिक सुरुङ छिर्न मुख्य सुरुङमा सातवटा गेट राखिएको छ ।

आयोजनाको मुख्य सुरुङको लम्बाइ भने दुई हजार छ सय ८८ मिटर छ । त्यसमध्ये सोमबारसम्म दुई हजार एक सय ८६ मिटर सुरुङ खन्ने काम सकिएको आयोजनाले जनाएको छ । मुख्य सुरुङ खन्न अब पाँच सय दुई मिटर मात्र बाँकी छ । आगामी मङ्सिरसम्ममा मुख्य सुरुङ पनि वारपार छिचोल्ने गरी काम भइरहेको छ ।

More News last news
Loading...