लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले दुई वटा मन्त्रालयको नाम फेरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ ।
त्यसैगरी आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयाे। मन्त्रिपरिषद् बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संशाेधन गर्ने निर्णय पनि गरेको छ।
बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुई सय शय्याकाे अस्पताल बनाउने गरी कर्मचारी व्यवस्थापन (ओएनएम) को स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यस्तै बैठकमा आर्थिक वर्ष २०७८/७९ को ससर्त अनुदानतर्फको दायित्व भुक्तानी स्वीकृत गर्ने निर्णय भएकाे प्रवक्ता पाण्डेले बताउनुभयाे ।
बैठकले निर्देशनालयको व्यवस्थापनका लागि प्रदेश सरकारका विभिन्न मन्त्रालयअन्तर्गत रहेका निर्देशनालयको कार्यक्षेत्र, भूमिका, सेवाको प्रभावकारीता र आवश्यकताको अध्ययन गरी प्रभावकारी कार्यसम्पादन र कर्मचारीको वृति विकासको पक्षसमेत विश्लेषण गरी अध्ययन गर्न नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गर्ने र त्यो समितिले एक महिनाभित्रमा अध्ययन प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ ।
केही दिनअघि दाङको दङ्गीशरण गाउँपालिकामा चट्याङ लागेर ज्यान गुमाएका दुई जनालाई र बर्दियामा एक वर्षअघि गोली लागेर ज्यान गुमाएकी विद्यार्थी नविना थारुलाई प्रदेश सरकारको तर्फबाट जनही एक/एक लाख रुपैयाँ राहत दिने निर्णय पनि बैठकले गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
