काठमाडौं । प्रहरीले त्रिभुवन विश्वबिद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई पक्राउ गरेको छ । चलाउने सरकारले आफूमाथि आक्रमण र हातपात गर्नेको मुद्दा फिर्ता लिन खोजेको भन्दै त्यसबिरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुग्नुभएको थियो ।
चलाउनेले अदालतभित्र होहल्ला गरेपछि चलाउनेलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका योगेन्द्र रावल र हरि आचार्य लगायतविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ ।
मुद्दाको पेशी असार ५ गते तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको थियो ।मुद्दा फिर्ता नलिन र आफूलाई न्याय दिन भन्दै चलाउने लगायत उनी पक्षधर ब्यक्तिहरु जिल्ला अदालत पुगेका हुन्।
२०७७ असोज २०मा त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण भएको थियो। आफूमाथि आक्रमण गरेको भन्दै चलाउनेले रावल र आचार्य लगायत बिरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गर्नुभएको थियो ।
पक्राउ पर्नुअघि संचारकर्मीहरुसँग चलाउनेले आफूले यो मुद्दामा ५ वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएको गुनासो गर्नुभयो । उहाँले देशमा न्याय मरेको र मानवता हराएको बताउनु भयो । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय गरेपछि आफूले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताउनु भयो ।
सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको आरोप उहाँको छ ।आफूलाई न्याय दिनुको साटो सरकारले अदालतलाई बाइपास गरेर सुनुवाई हुनुभन्दा दुई दिनअघि मुद्दा फिर्ता लिनु उचित नभएको बताउनु भयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
