बुटवल । बुटवलको लुम्बिनी केबलकारको यही जेठ १५ गते अर्थात आइतबारदेखि संचालनमा आउने भएको छ । आईएमई ग्रुपको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिकरुपमा सञ्चालन हुनुपूर्व मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना गरिएको छ ।
भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।
सप्ताहव्यापी पुजाआराधनामा बुटवलसहित रुपन्देही, पाल्पा र छिमेकी जिल्लाबाट भक्तजनहरु आउने गौतमले बताए । सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिँदैछन् ।
कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरु निर्माणले बसन्तपुर एउटा धार्मिक गन्तब्य बनेको लुम्बिनी केबलकारका इन्जिनियर सन्नी चौरसियाले बताए ।
सप्ताहव्यापी पुजाआराधनाकै बीचमा जेठ १५ गतेदेखि केबलकारको व्यवसायिक सञ्चालन हुने इन्जिनियर चौरसियाले बताए । केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
