काठमाडौँ । केटासँग बोलेको भन्दै १३ जनाले एकै पटक कुटपिट गर्दा मोरङमा एक किशोरीको झण्डै ज्यान गएको छ। वैशाख ६ गते भएको उक्त घट्ना कुटपिट गर्ने मध्येकै एक किशोरीले खिचेको भिडियोबाट सार्वजनिक भएको हो।
उक्त भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ। मिक्लाजुङ गाउँपालिका-३ स्थित टाँडी बजारमा रहेको कालिका माविको कक्षा ८ मा पढने ति किशोरीलाई उनीभन्दा माथिल्लो कक्षामा पढ्ने किशोरीहरुको समुहले एउटा कोठामा लिएर जान्छ।
भिडियोमा देखिए अनुसार ति मध्येकी एक किशोरीले केटाको नाम लिँदै…सँग किन बोलेको ?’ भन्दै झापड हान्छिन्। एक्कासी पिटाइ खाँदा उनी जवाफविहीन बनिन्। जवाफमा उनले भनेकी छिन्, ‘म हैन ऊ आफै बोलेको हो।’ यस वाहेक ती किशोरी प्रतिवाद गर्न सक्ने अवस्थामा समेत देखिएकी छैनन्।
त्यसपछि उनीमाथि समूहले नै कुटपिट गर्छ। कुटपिटका क्रममा किशोरीसहित उनकी आमालाईसमेतलाई लान्छना लगाउँदै गाली गरेको सुनिन्छ।
कुटपिटबाट घाइते किशोरीको विर्तामोड स्थित बीएन्डसी अस्पताल उपचार भइरहेको छ। सांघातिक हमला भएपछि पीडित किशोरीकी आमाले उनीहरु विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा आफ्नी छोरीलाई मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै ‘ज्यान मार्ने उद्योग’को जाहेरी दिएकी छिन्।
जाहेरीपछि प्रहरीले पीडित किशोरीलाई कुटपिट गर्ने १३ जनालाई नै वैशाख ११ गते पक्राउ गरेको छ । उनीहरु सबै कक्षा ८ देखि कक्षा १० सम्म अध्ययन गर्ने १४ देखि १७ वर्षसम्मका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
