चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताउनुुभएको छ । नेपाली चलचित्र उद्योगका विभिन्न संघ संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुुभकामना आदान प्रदान गर्न नेपाल चलचित्र निर्माता संघले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चलचित्रको गुणस्तरीयता वृद्धिमा जोड दिनुपर्ने बताउनुभएको हो ।

‘‘हिजो चलचित्रको संख्या कम रहेको र प्रविधिको प्रयोग नहुने बेलामा चलचित्रको संख्या बढाउनु महत्वपूर्ण नै हुन्थ्यो, उहाँले भन्नुुभयो–‘‘तर, अब छायांकनदेखि प्रदर्शनसम्ममा प्रविधिको उच्चतम प्रयोग भइरहेको र अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिस्पर्धा गर्ने समय आएकाले पनि गुणस्तरमा ध्यान दिनुु आवश्यक छ ।’’

Advertisement

नेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नलायक बनाउन चलचित्रकर्मीलाई लाग्न आग्रह गर्दै उहाँले यसमा आवश्यक कानुन र नीति निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चलचित्र क्षेत्रको नीतिगत कामका लागि सरकारी निकायको रुपमा रुपमा चलचित्र बोर्ड सक्रिय रहेको उल्लेख गर्दै उहाँले बोर्डमार्फत चलचित्र क्षेत्रका समस्या र नीतिगत समाधानका उपायहरु केन्द्रिकृत गर्न आग्रह गर्नुभयो ।

अहिले पनि नेपाली चलचित्र क्षेत्र २०२६ सालको ऐनद्वारा निर्देशित भएको उल्लेख गर्दै मन्त्री शर्माले हिजो श्वेत चलचित्र चलाउने कानुनले आजको डिजिटल युुगलाई प्रतिनिधित्व गर्न नसक्ने भएकाले चलचित्र ऐन परिमार्जन थालिएको बताउनुुभयो ।

More News last news
Loading...