काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराएका छन् । सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै यातायात नचलाउने घोषणा गरेका हुन्।
१० बुँदे माग पूरा नभएसम्म यातायात ठप्प पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । ट्राफिकले ५ पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध व्यावसायीहरुहले सोमबार काठमाडौंको बालाजु क्षेत्रमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले प्रहरीका दुई वटा भ्यानका साथै माछापोखरीस्थित अस्थायी प्रहरी विटमा आगजनी गरेका छन् । त्यस्तै प्रदर्शनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेका डिभाइडर, ट्राफिक प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन्।
यसैबीच, आन्दोलनरत यातायात मजदुरसँग मंगलबार सरकारी अधिकारीहरुले वार्ता गर्ने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहान ८ बजे वार्ताका लागि बोलाइएको यातायात विभागले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
