काठमाडौं । पोखरामा गत आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका ४ जना भारतीय नागरिकका परिवारलाई उत्तर प्रदेश सरकारले प्रतिव्यक्ति ८ लाख रूपैयाँ (नेपाली १२ लाख ८० हजार) दिने भएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विमान दुर्घटनामा मृत्युभएका उत्तर प्रदेशको गाजीपुरका ४ युवाका परिवारलाई ८ लाखका दरले सहयोग गर्ने घोषणा गर्नुभएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ।
विमान दुर्घटनामा परेका मध्ये २२ जनाको शव उनीहरूका आफन्तलाई बुझाइएको छ। मंगलबार साँझसम्म ७१ जनाको शव भेटिएको मध्ये सनाखत भएका २२ जनाको शव पोखराबाटै हस्तान्तरण गरिएको कास्की जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुर्घटनामा परेका एक जनाको अवस्था अझै अज्ञात रहेको छ भने ४८ वटा शव मंगलबार काठमाडौं ल्याइएको थियो ।
सनाखत हुन नसकेका, विदेशी नागरिक तथा चालक दलका सदस्यहरूको शव काठमाडौं ल्याइएको हो । क्षत विक्षत अवस्थामा रहेका शवहरूको डीएनए परीक्षण गरी पहिचान गर्नुपर्ने भएकाले काठमाडौं ल्याइएको हो । दुर्घटनाग्रस्त विमानमा ७२ जना रहेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
