सुन्दरीजल आइपुग्यो मेलम्ची खोलाको पानी, अब केही दिनमै धारामा पठाइने

काठमाडौं । मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुगेको छ। कार्यकारी निर्देशक कमलराज श्रेष्ठले पूर्व निर्धारित समयमा नै मेलम्चीको पानी वितरणको लागि पठाइने जानकारी दिनुभयो।

अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । साथै बाह्रै महिना मेलम्चीको पानी पथान्तरण सम्बन्धमा पनि तत्काल कार्यान्वयनको लागि प्रक्रिया अगाडि बढिरहेको उहाँको भनाइ छl

Advertisement

गत हप्ता मात्र मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी वितरणका लागि अस्थायी बाँध बनाएर सुरुङमा पानी पठाउन सुरु गरिएको थियो। बाढीले क्षति पुगेको आयोजना स्थलमा बालुवा, ढुङ्गा लगायत हटाएर अस्थायी बाँध बनाएर पानी पठाउन सुरु गरिएको थियो।

मङ्सिर १२ गतेदेखि २६ किलोमिटर लामो सुरुङमा मेलम्ची नदीको पानी पठाउने काम सुरु भएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो। पानी प्रशोधन भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नयाँ तालिका बनाएर पानी वितरण कार्यलाई अघि बढाउनेछ।

२०७८ साल असारमा आएको बाढी पहिरोले मेलम्ची आयोजना स्थलमा क्षति पुगेपछि पानी आउन बन्द भएको थियो । गत वैशाखमा अस्थायी बाँध बनाएर काठमाडौं पानी पठाउन थालिए पनि १ महिनापछि गत जेठदेखि सुरुङको बन्द गरेर पानी पठाउन रोकिएको थियो।

पुनः अस्थायी बाँध हालेर काठमाडौंमा पानी पठाउन थालिएको हो । अब हिउँदयामभरी मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौंका धारामा आउने मेलम्ची खानेपानी आयोजनाको भनाई छ।

More News last news
Loading...