काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्यालले मिडिया काउन्सिलकाे नाममा “निजामती अड्डा” गठन नगर्न चेतावनी दिएका छन् । संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयकबारे सञ्चार केन्द्र नेपालले आयाेजना गरेकाे अन्तरक्रियामा बाेल्दै उपाध्यक्ष अर्यालले समग्र पत्रकारिता क्षेत्रकाे अनुगमन र नियमन प्रस्तावित मिडिया काउन्सिलकाे संरचनाबाट सम्भव नहुने बताएका हुन्।
‘अहिले प्रस्ताव गरिएजस्ताे सचिवकाे सिफारिसमा मिडिया काउन्सिलका नाममा अर्काे निजामती अड्डा बनाउने कुरा हामीलाई स्वीकार्य छैन । हामी स्वतन्त्र , स्वायत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप नगर्ने काउन्सिलकाे पक्षमा छाै’, अर्यालले भने ।
विगतमा नेकपा नेतृत्वको सरकारले ल्याएको विधेयकमा केही संशोधन गरिएपनि पर्याप्त नभएकाे अर्यालकाे भनाई छ। उनले पार्टीको प्रचारमा खटिएकाहरुलाई मिडिया काउन्सिलमा नियुक्ति नदिने प्रावधान हुन नहुने बताए । संसदीय समितिले सञ्चार क्षेत्रले उठाएका माग सम्बाेधन गरेर मात्रै विधेयक अगाडि बढाउनुपर्नेमा अर्यालकाे जाेड थियाे ।
प्रेस युनियन सधै लाेकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारकाे पक्षमा उभिने भन्दै उपाध्यक्ष अर्यालले युनियनको हालै सम्पन्न केन्द्रीय समिति बैठकले विधेयकका त्रुटीहरु सच्याउन सरकारसँग माग गरेकाे जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधिसभाकाे विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले विधेयकबारे सञ्चार क्षेत्रले उठाएका माग सम्बाेधनका लागि पहल गर्ने बताइन् । कार्यक्रममा वरिष्ठ पत्रकार हरिबहादुर थापा, राजधानी दैनिकका सम्पादक सागर पण्डित, नेपाल पत्रकार महासंघका सचिव गाेविन्द चाैलागाई , अधिवक्ता अनन्तराज लुइँटेल र प्रेस चाैतारीमा उपमहासचिव शुराेजंग पाण्डेले विधेयकका विवादास्पद प्रावधान हटाउनुपर्नेमा जाेड दिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
