नेतृत्वलाई दबाब दिँदै कांग्रेसका युवा उमेद्वारहरु, भोलि पोखरामा ‘युथ टेबल’
स्वतन्त्र युवा चम्किने कांग्रेसका युवा थन्किने अवस्था अन्त्यको माग
पोखरा । प्रदेश तथा प्रतिनिधीसभा सदस्य निर्वाचनमा भाग लिन जुर्मुराएका कांग्रेसको तल्लो निकायबाट उमेद्वार सिफारिस भएका युवा उमेदवारहरुले आसन्न चुनावमा युवाहरुको सहभागिता बढाउन दबाब स्वरुप पोखरामा युथ टेबल गर्ने भएका छन् ।
युथ टेबलमा गण्डकी प्रदेशका ११ जिल्लाबाट प्रतिनिधीसभा र प्रदेशसभामा सिफारिस भएका युवा उमेदवारहरु सहभागी हुनेछन । कार्यक्रममा उनीहरुले आफ्नो लिखित तथा मौखिक प्रस्तुतीमार्फत युवाका एजेण्डा र कांग्रेसले लिनुपर्ने अबको बाटोको बारेमा छलफल गर्ने छन् ।
प्रदेशका ११ जिल्लाबाट प्रतिनिधिसभामा १८ र प्रदेशसभामा ३६ जना उमेद्वार सिफारिस भएका छन् । यी सबै युवा उमेदवारहरुले आपसी भेला गर्ने सहमति अनुरुप कार्यक्रम तय भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तथा युथ टेबलका अभियन्ता अजित क्षेत्रीले नयाँ पुस्तालाई बताए । क्षेत्री स्याङजा कांग्रेसबाट उमेद्वार सिफारिस भएका छन् ।
क्षेत्रीका अनुसार, भोलि (आइतबार) बिहान ११ बजे पोखरामा हुने कार्यक्रममार्फत कांग्रेसमा युवाहरुको प्रभावकारी उपस्थितीको बारेमा छलफल हुने, पार्टीमा युवाहरुलाई स्थान दिन दबाब दिने र घोषणापत्रमा समेट्नुपर्ने विषयमा छलफल हुने छ ।
युवा नेताहरुले “स्वतन्त्र चम्किने, कांग्रेसका युवा कहिलेसम्म थन्किने”, “परिवर्तनका निम्ति युवा”, “सक्षम युवा, एजेण्डा सहित” लगायतका नाराहरु तय गरेका छन् ।
ठुलो पार्टी भएपनि नेतृत्वमा र टिकट पाउने बेलामा चाहिँ युवाहरुलाई पछाडि पारिँदा स्वतन्त्र युवाहरुले जित्ने अवस्था आएको र यसमा पार्टीले युवा उमेदवार अगाडि नसारेकै कारण पार्टीलाई नोक्सान भएको उनीहरुको ठहर छ।
पार्टीले युवालाई अगाडि नबढाउँदा देशमा स्वतन्त्रको लहर आएको र त्यसबाट पार्टीलाई नै नोक्सान हुने हुँदा आसन्न संसदीय निर्वाचनमा युवाहरुलाई प्राथमिकता दिनुपर्ने सन्देश उनीहरुले युथ टेबलमार्फत दिनेछन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
